सुख्खायाम लागेसँगै भारतबाट बिजुली खरिद सुरु
काठमाडौँ- बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो ।
हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ । गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी 'ए' जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ । प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपैयाँ १० पैसा छ ।
मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ । यद्यपि नियात पनि सँगसँगै भइरहेकाे प्राधिकरणले जानकारी दिएको छ। यसबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको उल्लेख छ।
हिउँदमा जलप्रवाह घटेर विद्युत् उत्पादन कम हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको आकलनअनुसार चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया