ऊर्जा

सडक बत्तीबाट प्राधिकरणलाई नोक्सान

देशभरका स्थानीय तहलाई सडक बतीको महसुल तिर्न विद्युत प्राधिकारणको निर्देशन

इकागज |
पुस ६, २०७९ बुधबार १२:४४ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई सडक बत्तीको महसुल तिर्न निर्देशन दिएको छ । स्थानीय तहले आफूखुसी र प्राधिकरणको अनुमति नलिई सडकमा बत्ति जडान गर्दा प्राधिकरणलाई ठूलो नोक्सान भएको प्राधिकरणले जनाएको छ ।

सडकमा बत्ती जडान गरिएको ऊर्जा मापन गर्न नसक्दा र जडान गरिएको विद्युत खपतको महसुल भुक्तानी नगर्दा प्राधिकरणलाई असर परिरहेको प्राधिकरणले जानकारी दिएको छ ।


प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ,’ स्थानीय तहलाई बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्नेछ । प्राधिकरणको वितरण केन्द्रबाट सहमति लिएर मात्र सडक बत्ती जडान गर्नुपर्नेछ । सडक बत्तीको विद्युत मापन गर्न ४५ दिनभित्र मिटर जडान गर्नुपर्छ । सडक बत्तीको बारेमा केही बुझ्न परेमा नजिकको प्राधिकरण केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।‘

तत्काल मिटर जडान नगरेमा वा बाँकी बक्यौता रकम नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले बताएको छ ।

प्राधिकरणले सिङ्गल फेज इनर्जी सडक बत्तीका लागि निःशुल्क मिटर उपलब्ध गराउने छ । एउटा मिटरले सय वाटको ५० बत्तीको मापन गर्न सक्छ । प्राधिकरणले प्रत्येक बत्तीलाई मिटर उपलब्ध नगराउने भएको छ ।

‘स्थानीय तहले नजिकको वितरण केन्द्रमा समन्वय गरी सडक बत्तीका लागि केवल तानेर बत्ती जडान गर्नुपर्नेछ,’ प्राधिकरणले जारी गरेको सूचनामा लेखिएको छ ।


Author

थप समाचार
x