जलविद्युतले राइनास सिँचाइलाई पानी रोक्दैन : चेपेखोला प्रवर्द्धक
काठमाडौं- लमजुङ र गोरखामा निर्माणाधीन चेपेखोला ए (७ मेगावाट) को जलविद्युतले लमजुङको राइनासटार सिँचाइ आयोजनालाई कुनै असर नपर्ने स्पष्ट पारेको छ ।
उक्त आयोजनको प्रवर्द्धक चम्पावाती हाइड्रोपावर कम्पनी लि. ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी राइनासटार सिँचाइको मुहानदेखि २ सय मिटरमाथि चेपे खोलाबाट बिजुली उत्पादन गरेको पानी छाडिने भएकाले सिँचाइलाई कुनै समस्या नपर्ने स्पष्ट पारेको हो ।
यही विषयलाई देखाएर स्थानीयले गत मंसिर २४ गते आयोजनामा आगजनी र तोडफोड गरेका थिए । ६५ प्रतिशत भौतिक निर्माण पूरा भइसकेको र ९० करोड रुपैयाँ खर्च भइसकेको उक्त आयोजनामा आगजनी र तोडफोडको घटनापछि हाल निर्माण कार्य ठप्प छ ।
‘आगजनी गर्ने पक्षले उचालेको विषय नहरको इनटेक (मुहान) भन्दा २०० मिटर तल पानी खसाल्न लाग्यो भन्ने छ,’ पत्रकार सम्मेलनमा कम्पनीले वितरण गरेको प्रेस विज्ञप्तिमा छ, ‘यसमा कुनै सत्यता छैन, आयोजनाको विद्युत् गृहबाट निस्कने पानी नहरको इनटेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भएअनुसार नै अहिलेको डिजाइनमा विद्युत् गृहको टेलरेस (पानी निस्कने ठाउँ) बाट जान्छ ।’
राइनास नहरको मुहानभन्दा १६० मिटर टेलरेस रहेको कम्पनीले जनाएको छ । ‘विद्युत् गृहको टेलरेसबाट पानी निस्कने लेभल (उचाई) र नहरको मुहानको लेभल करिब २ सय मिटरको फरकमा रहेको छ,’ विज्ञप्तिमा छ, ‘जलविद्युत् आयोजनाको पानीको निस्कने लेभल ६३६.१२ मिटरमा छ, नहरको इनटेकमा पानीको लेभल ६३३.४ मिटर छ ।’
‘पानी भनेको माथिल्लो लेभलबाट तल बग्ने हो । केही व्यक्तिहरूले आयोजनाको जगमा बनिरहेको (पूर्ण रूपमा निर्माण भइनसकेको संरचना) र भौगोलिक अवस्थितिलाई आधार बनाएर मिथ्या सूचना दिएको पाइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तोडफोड र आगजनीको अगुवाई गर्ने व्यक्तिहरूलाई आयोजनाले विद्युत् गृहबाट निस्कने पानी नहरको मुहानभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने कुरा पटक-पटक जानकारी गराइएको थियो । त्यति हुँदा पनि घटना घटाइनु र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गर्दा सहमतिमा नआउनु दुःखद पक्ष हो ।’
उक्त आगजनी र तोडफोडको घटनामा संलग्न रहेको भन्दै आयोजनाले राइनास नगर उपप्रमुख पुष्पराज खनाल, राइनासटार सिँचाइ जल उपभोक्ता समूहका अध्यक्ष फणिन्द्र चिलुवाल, सचिव हरिप्रसाद चिलुवाल, कोषाध्यक्ष गोविन्दराज न्यौपाने, उपभोक्ता नारायण अधिकारी, इन्जिनियर प्रकाश न्यौपाने, कांग्रेस राइनास नगर सभापति श्रीकृष्ण पौडेल र एमाले राइनास नगर कमिटी सचिव बलराम घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीले आगजनी र तोडफोडमा संलग्नहरूमाथि कारबाही र आगजनीबाट भएको क्षतिपूर्तिको माग गरेको छ ।
स्थानीय राजनीतिक दलका नेताहरूले गत मंसिर २४ गते गरेको आगजनीबाट चेपे खोला जलविद्युत् (७ मेगावाट) ३३ करोड ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको कम्पनीले जनाएको छ ।
ठेकेदार कम्पनी र आयोजनाको गरी तीन करोड ४० लाख रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र अप्रत्यक्ष रूपमा लागत बढ्न जाने र उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले गर्दा थप ३० करोड क्षति हुने अनुमान छ ।
गोरखाको सिरानचोक र लमजुङको दुधपोखरी गाविसमा पर्ने यो आयोजनको निर्माण २०७७ सालदेखि सुरु भएको थियो । नदी प्रवाही (रन अफ रिभर) आयोजना भएकाले पानी नथुनिने, खोलाको प्राकृतिक बहाव कायमै राखिने र सिँचाइको मुहानभन्दा माथि चेपेखोलामै पानी छाडिने गरी डिजाइन तथा निर्माण कार्य गरिएको कम्पनीले जनाएको छ ।
निर्माण कार्य भइरहेका बेला राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र राइनास नगरपालिका समेतले कम्पनीसँग नहरको मुहानमा पानी जाने/नजाने विषयमा पत्रमार्फत जानकारी गराउन माग गरेका थिए । कम्पनीले नहरको मुहानभन्दा माथि नै विद्युत् गृहबाट निस्कने पानी जाने अवगत गराएको पत्रकार सम्मेलनमा जनाएको छ ।
सोही विषयमा विद्युत् विकास विभागमार्फत पनि विवरण पेस गर्न माग भएकोमा गत मंसिर २१ गते विवरण पेस गरिएको र विभागले पनि विद्युत् गृहबाट निस्कने पानी नहरको मुहानमा जान प्राविधिक रूपमा समस्या नभएको भन्ने व्यहोरासहितको पत्र दिइसकेको थियो ।
'गत मंसिर २४ गते राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र राइनास नगरपालिकाका जनप्रतिनिधिहरू समेतको संलग्नतामा आयोजनाको विद्युत् गृह निर्माणस्थल र साइट अफिसमा एक्कासि सयौं मानिसहरू लिएर तोडफोड र आगजनी गरियो,’ विज्ञप्तिमा छ, ‘यही विषयलाई लिएर नहरसँग सम्बन्धित व्यक्तिहरूबाट काम रोक्न धम्की दिइरहेको अवस्था थियो, यो विषय आयोजनाले स्थानीय सुरक्षा निकायलाई जानकारी गराएको पनि थियो ।’
विज्ञप्तिमा भनिएको छ, ‘तोडफोड र आगजनीमा जनप्रतिनिधिहरू स्वयंले अगुवाइ गरे भने स्थानीय रूपमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्वमा रहेकाहरू नै संलग्न थिए भन्ने कुरा प्रहरी प्रशासनलाई राम्रैसँग थाहा छ ।’
उता स्थानीयवासीले भने आयोजनाले स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनभन्दा अन्यत्र विद्युत् गृह निर्माण गरेको, सिँचाइमा पानी जाने कुरा ग्यारेन्टी नभएको, अहिले बनिरहेको संरचनाले भोलि ठूलो प्राकृतिक विपत्ति निम्त्याउने भएकाले हाल बनिरहेको विद्युत् गृह नै अन्यत्र सार्नुपर्ने माग गरेका छन् ।
राइनासटारका ८५० हेक्टर क्षेत्रमा सिँचाइ भइरहेको, ३५ सय घरधुरी १४ हजार किसान यसै नहरमा निर्भर रहेको स्थानीय प्रकाश न्यौपानेले बताए ।
उक्त आयोजनामा तोडफोड भएपछि राइनासटार सिँचाइलाई असर गर्छ/गर्दैन भन्ने निर्क्यौल गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सिँचाइतर्फका एक जना सहसचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन बुझाउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया