ऊर्जा

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक

अन्तर्देशीय प्रसारण लाइन निर्माणमा सहमति, दीर्घकालीन पीपीएका लागि भारत सकारात्मक

इकागज |
फागुन ७, २०७९ आइतबार ८:२१ बजे

काठमाठौं - नेपाल–भारत १०औं ऊर्जा सचिवस्तरीय बैठकमा दोधारा (नेपाल)–बरेली–भारत) तथा इनरुवा–पूर्णिया (न्यू) ४०० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । भारतको उदीपुरमा हिजो सम्पन्न सचिव स्तरीय बैठकले सन् २०२७/२८ मा दोधारा–बरेली र सन् २०२८/२९ मा इनरुवा–पूर्णिया प्रसारण लाइनसम्बन्धी निर्णय गर्नेगरी सहमति भएको नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

ढल्केबर–मुजफ्फपुरपछि दोस्रो ठूलो प्रसारण लाइन निर्माणमा यसअघि भएको संयुक्त प्राविधिक समिति र दुवै देशका ऊर्जा सहसचिव स्तरीय बैठक संयुक्त कार्यदल (जेडब्लूजी) ले सिफारिस गरेको आधारमा निर्माण भएको सचिव घिमिरेले बैठकस्थल भारतको माउण्ट आबुबाट इकागजलाई जानकारी दिए ।


यसैगरी सचिव स्तरीय सयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनको क्षमता ८ सय मेगावाट कायम हुने सहमति गरेको छ । यसअघि यो लाइनो क्षमता ‘एन माइनस वान’ (एउटा जगेडा राखी) विधिअनुसार ६ सय मेगावाट थियो ।

यो लाइनले बिजुली बोके पनि नबोके पनि यसको वार्षिक प्रसारण शुल्क एक अर्ब आठ करोड रुपैयाँ नेपाव विद्युत् प्राधिकरणले तिर्दै आएको छ । डबल सर्किटको यो लाइनको सैद्धान्तिक क्षमता दुई हजार मेगावाट हो ।

यसैगरी बैठकमा विद्यमान महेन्द्रनगर–टनकपुर प्रसारण लाइनबाट अपिलदेखि जूनसम्म ७० मेगावाट र जूलाईदेखि मार्चसम्म ८० मेगावाट बिजुली प्रवाह गर्न सहमति भएको छ । वर्षायाममा सुदूर पश्चिम क्षेत्रबाट उत्पादित बिजुली खेर जान नदिने महेन्द्रनगर–टनकपुर प्रसारण लाइन क्षमता वृद्धि वा २०० केभीको बनाउने नेपालको प्रस्तावलाई दुवै देशको प्राविधिक समितिलाई प्राविधिक रुपमा टुंग्याउन निर्देश गरेको छ ।

नेपालले महत्वका साथ उठाएको दीर्घकालीन अन्तरसरकारी विद्युत खरिद सम्झौता (पीपीए) का लागि भारतले विस्तृत रुपमा प्रस्ताव पठाउन भनेको छ । दुवै देशका सरकारी निकायबीच पीपीएका लागि नेपालले प्रस्ताव गरेको थियो ।

यसैगरी नेपालले भारत हुँदै बंगलादेशसम्म ५० मेगावाटको बिजुली (लिखु ४) निर्यात गर्न गरेको प्रस्ताव उपर भारतले परीक्षण गर्ने भएको छ । नेपालले पठाएको प्रस्तावलाई जाँच गरी आगामी दिनमा सहमति दिने बैठकको कार्यादेश छ ।


Author

थप समाचार
x