ऊर्जा

'सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ'

इकागज |
फागुन १६, २०७९ मंगलबार १३:२८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर बन्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने दाबी गरेका हुन् । 

उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गरे । सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको उनको भनाइ छ । 


उनले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८०० मेगावट विद्युत उत्पादन बढ्दै गएको बताए । निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । 

११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावटको पीपीए भइसकेको उनको भनाइ छ । 'सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ ।  यसरी हेर्दा सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो,' उनले भने, 'सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’


Author

थप समाचार
x