सीता हाइड्रोपावर आक्रमणको इप्पानद्वारा भत्सर्ना
काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-३ स्थित सीता हाइड्रोपावर प्रा.लिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनाको निर्माण स्थलमा एक समूहले आगजनी, तोडफोड तथा कर्मचारीमाथि सांघातिक आक्रमण गरेको घटनाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भत्सर्ना गरेको छ ।
इप्पानले आज पत्रकार सम्मेलन गरी उच्छृङ्खल, अराजक तथा आपराधिक घटनाको घोर भत्सर्ना र निन्दा गरेको जनाएकाे हो । इप्पानले आयोजनालाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुका साथै घाइते भएका कर्मचारीहरूको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत सरकारसँग जोडदार माग गरेको छ । घटना यही फागुन १५ गते भएको थियो ।
विगतदेखि नै जलविद्युत् आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको सामना गरिरहनुपरेको उल्लेख गर्दै इप्पानले विभिन्न बहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पुर्याउने तथा प्रवर्द्धक एवम् कर्मचारीहरूलाई मानसिक र भौतिक रूपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका आपराधिक, उच्छृङ्खल, अराजक र उदण्ड गतिविधि हुने गरेको जनाएको छ ।
‘यस प्रकारका आपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रवाह हुनुका साथै समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ इप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ इप्पानले भनेको छ ।
परियोजनाहरूको कार्य स्थलमा हुने गरेका यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न इप्पानले माग गरेको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनाहरूमा यस्ता कार्यहरू निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कानुनी कारबाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ति भराउने व्यवस्था मिलाउन इप्पान सरकारसँग जोडदार माग गर्दछ,’ उसले भनेको छ ।
करेन्ट लागेर निधन भएकी बालिकाप्रति इप्पानको तर्फबाट भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति हुने छ भन्ने इप्पानले विश्वास व्यक्त गरेको छ । ‘आक्रमणमा परेर घाइते हुनुभएका सम्पूर्ण कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ इप्पानले जारी गरेको विज्ञप्तिमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया