ऊर्जा

घुन्सा र सिम्बुवा जलविद्युत् तीनवटा सरकारी निकाय मिलेर बनाउने

इकागज |
फागुन १८, २०७९ बिहीबार १४:२२ बजे

काठमाडौं– जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले आफ्ना सहायक कम्पनीमार्फत अघि बढाइरहेको दुईवटा आयोजनाहरुमा नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीलाई साझेदार बनाउने भएको छ । 

तीन सरकारी निकायबीच हिजो बुधबार भएको समझदारीअनुसार सिम्बुवा खोला जलविद्युत् आयोजना विकास गर्ने सिम्बुवा रेमिट हाइड्रोको संस्थापक समूहको ५१ प्रतिशत शेयरमध्ये विद्युत् उत्पादन कम्पनीले २१ प्रतिशत, एचआइडीसीएलले १५ प्रतिशत र प्राधिकरणले १५ प्रतिशत लिनेछन् ।


त्यसैगरी घुन्सा खोला जलविद्युत् आयोजना विकास गर्ने रेमिट हाइड्रोको ५१ प्रतिशत शेयरमध्ये प्राधिकरणले २१ प्रतिशत, एचआइडीसीएलले १५ र विद्युत् उत्पादन कम्पनीले १५ प्रतिशत शेयर लिने समझदारी भएको छ ।

एचआइडीसीएलले आफ्ना दुई सहायक कम्पनीमार्फत सिम्बुवा (७७.३ मेगावाट) र घुन्सा खोला (७०.५ मेगावाट) अघि बढाउँदै आएको थियो ।

समझदारीअनुसार एचआइडीसीएलले गरेको पूर्व प्रतिबद्धता बमोजिम हुने गरी दुवै कम्पनीको सर्वसाधारण समूहको शेयरमा वैदेशिक रोजगारीमा गएका सर्वसाधरणका लागि २९ प्रतिशत शेयर आरक्षण हुनेछ । आयोजनाको कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर कायम हुने गरी आयोजनाको वित्तीय स्वरुप निर्धारण गर्ने सहमति भएको छ ।

दुवै कम्पनीको सञ्चालक समितिमा प्राधिकरण, एचआइडीसीएल र विद्युत् उत्पादन कम्पनीको एक, एक जना प्रतिनिधित्व रहने भएको छ । आयोजनाको वित्तीय व्यवस्थापन गर्न एचआइडीसीलले बैंक तथा वित्तीय संस्थाहरुसँवग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ । 

‘आयोजनाको लागि आवश्यक ऋण रकमको प्रबन्ध गर्ने क्रममा ऋण लगानीकर्ताले संस्थापक जमानत माग गरेमा प्रचलित कानुनको अधीनमा रही प्राधिकरण र विद्युत् उत्पादन कम्पनीले संस्थागत जमानत प्रदान गर्ने’ ऊर्जा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा छ, ‘प्राधिकरणले प्रचलित कानुन एवं कार्यविधि अनुरुप दुवै आयोजनाले उत्पादन गर्ने विद्युतकाे खरिद सम्झौता गर्ने ।’

एआइडीसीएलले यी दुवै आयोजनामा हालसम्म गरेको खर्च ९६ करोड रुपैयाँलाई कम्पनीको लगानी मानी अन्य दुवई निकायबाट शेयर संरचनाको आधारमा समानुपातिक रुपमा शेयर बापतको रकम भुक्तानी गर्दै जाने पनि सहमति भएको छ । 
 


Author

थप समाचार
x