दूधकोसी जलाशययुक्त : सात वर्षमा पनि पूरा भएन अध्ययन
काठमाडौं–सरकारले २०७७ सालको बजेटमै उच्च प्राथमिकतामा राखेको दूधकोसी जलाशययुक्त (६३५ मेगावाट) को अध्ययन कार्य सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।
विदेशी दाताको पैसा, उसैको खटनपटन र हरेक कुरामा पूर्व सहमति लिनुपर्ने शर्त अनि कोभिड १९ का कारण अध्ययन कार्य अपेक्षित समयमा पूरा हुन नसकेको हो।
३० महिनाभित्र आयोजनाको अद्यावधिक अध्ययन, विस्तृत डिजाइन, अनुमानित लागत, टेण्डर डकुमेन्ट तयार गर्ने सम्झौता परामर्शदाता इटालीको इएलसी इलेक्ट्रो कन्सल्ट र जापानी कम्पनी न्यूजेको (संयुक्त उपक्रम) भएका थियो ।
आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठले आगामी जुन (जेठ–असार) भित्र सम्पूर्ण कार्य पूरा हुने गरी काम भइरहेको बताए । परामर्शदातालाई यही मार्च–अप्रिलभित्र पूरा गर्न भने पनि तयार गरिएको अध्ययनमा थप प्रतिक्रिया समावेश गर्दै जाँदा समय लाग्न पुगेको उनले बताए ।
हालसम्म अध्ययनको करिब ९० प्रतिशत पूरा भएको श्रेष्ठले बताए । विद्युत् गृह क्षेत्रको भौगोलिक निर्दिष्टताका लागि थप दुईवटा ड्रिलिङ (भौगर्भिक अध्ययन) गर्नुपर्ने भएकाले हाल उक्त कार्य भइरहेको, डिजाइन करिब पूरा भएको र विभिन्न विज्ञहरुले दिएको राय सुझावलाई समावेश गर्ने कार्य भइरहेको छ ।
यो आयोजनाको अध्ययनका लागि साढे ६१ लाख अमेरिकी डलर २१ करोड रुपैयाँ गरी हालको मूल्यमा एक अर्ब रुपैयाँभन्दा बढीमा इटालियन कम्पनीलाई ठेक्का दिइएको हो । यसको अध्ययन कार्य एसियाली विकास बैंकको अनुदान सहयोगमा भइरहेको हो ।
अध्ययन पूरा भएर वित्तीय व्यवस्थापन भएपछि सम्पूर्ण निर्माण गर्न सात वर्ष लाग्ने छ । तर अझै अध्ययन पूरा नभएकाले सरकारले जति प्राथमिकतामा राखे पनि अघि बढ्न सकेको छैन । पहिलोपटक कोभिड–१९ को लहर सुरु हुनुअघि नै यो आयोजनाको अध्ययन प्रतिवेदनको मस्यौदा तयार भएको थियो । कोरोनाका कारण उक्त प्रतिवेदनमाथि थप छलफल हुन नपाउँदा ढिला हुन पुगेको श्रेष्ठ बताउँछन् ।
सुख्खायाममा स्वदेशमा पर्याप्त विद्युत् उत्पादन नहुँदा भारतबाट आयात हुँदै आएको छ । यो आयोजना निर्माण भएमा यसबाट सुख्खायाममा दैनिक १२ घण्टा तीन अर्ब २४ करोड युनिट बिजुली निरन्तर उत्पादन हुन्छ । यो सुख्खायामको कुल उत्पादन हुने ऊर्जाको ३९ प्रतिशत हो ।
बूढीगण्डकीबाहेक अध्ययन पूरा गरेको अन्य जलाशययुक्त आयोजना छैन । नेपालको दीर्घकालीन ऊर्जा आपूर्ति सुनिश्चित मात्र हुने नभई मुलुकको सिजनल ब्यालेन्स (मौसमी सन्तुलन अर्थात् हिउँदमा अभाव हुने, बर्खामा बढी हुने) का लागि यो अति आवश्यक पर्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको हो।
जडित क्षमतामा बूढीगण्डकीभन्दा सानो भए पनि दूधकोसीले वार्षिक ३४४३ गिगावाट घण्टा (तीन अर्ब ४४ करोड ३० लाख युनिट) उत्पादन गर्छ । तर १२ सय मेगावाटको बूढीगण्डकीले वर्षको तीन अर्ब ३८ करोड ३० लाख युनिट उत्पादन गर्छ ।
यो आयोजनाको कूल लागत दुई अर्ब २० करोड अमेरिकी डलर हो । यो लागत निर्माण अवधिको ब्याजसमेतको हो । यसमा लगानी गर्न एडीबी, यूरोपियन इन्भेष्टमेन्ट बैंक, एसियाली पूर्वाधार विकास बैंक र कोरियन एक्जिम बैंकले लगानी चासो देखाएका छन् ।
त्यसबाहेक यूरोपियन इन्भेष्टमेन्ट बैंकले ३० देखि ५० करोड डलर, एसियाली पूर्वाधार विकास बैंकले ३० करोड र कोरियन एक्जिम बैंकले पनि ३० करोड डलर ऋण दिनेबारेमा छलफल भइरहेको प्राधिकरण स्रोतले बतायो ।
के हो दूधकोशी जलाययुक्त आयोजना
यो आयोजनाको बाँध (२०० मिटर) खोटाङको लामिडाँडास्थित रँभुवा बजारमा पर्छ । १३.३ किलोमिटर लामो हेडरेस टनेल (बाँधको पानी ल्याउने सुरुङ) बाट आएको पानीलाई घितुङमा ल्याई बिजुली उत्पादन गर्ने योजना छ । यसको जडित क्षमता ६३५ मेगावाट भए पनि मुख्य विद्युत्गृहबाट ६ सय र ड्याम टोय (बाँधको तल्लो भाग) बाट ३५ मेगावाट बिजुली उत्पादन हुन्छ ।
बाँधमा पानी जम्ममा गर्दा त्यसको फैलावट (ब्याक वाटर) दूधकोसी खोलामा १७ किलोमिटरसम्म फैलिने अध्ययनमा उल्लेख छ । त्यसै गरी खोटाङको रावा खोलामा ८ किलोमिटरम्म डुबानमा पर्नेछ । दूधकोसीमा मिसिन आउने अर्काे मेट्ने खोलामा साढे पाँच किलोमिटर जलाशय बन्नेछ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार खोटाङमा ६५७, ओखलढुंगामा २७९ र सोलुमा १४ गरी कूल एक हजार एक सय ५० घरधुरी प्रभावित हुनेछन् । यसमध्ये बढीमा एक सय आठ घरलाई पुनःस्थापना गर्नुपर्नेछ ।
प्रभावितमध्ये ओखलढुंगामा २५, खोटाङमा ८१ र सोलुमा २ घर पूर्ण रुपमा डुबानमा पर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया