ब्रम्हायणी र अप्पर ब्रम्हायणी जलविद्युत आयोजनामा चार बैंकले लगानी गर्ने
काठमाडौँ- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा निर्माण हुने ब्रम्हायणी (३५.४७ मेगावाट) र अप्पर ब्रम्हायणी (१५.१५ मेगावाट) जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ । इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने दुवै आयोजनामा सानिमा, सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने भएका हुन् ।
ति बैंक तथा वित्तीय संस्था र इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालबीच लगानी सम्झौतासम्बन्धि सहमति-पत्रमा हस्ताक्षर भएको छ । ललितपुरको हिमालय होटलमा शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष भरतप्रसाद पराजुली र ति बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सम्झौतासम्बन्धि सहमति-पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार ब्रम्हायणी आयोजनामा सानिमाले २४.७८, सिद्धार्थले १८.५८, कुमारीले १५.०४, लक्ष्मीले १४.१६, प्रभुले १०.६२ र मञ्जुश्री फाइनान्सले ३.५४ प्रतिशत ऋण लगानी गर्न लागेका हुन्। यो आयोजनामा हाडड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले ८.८५ प्रतिशत लगानी गर्नेछ ।
त्यस्तै, अप्पर ब्रम्हायणी आयोजनामा सानिमाले २४.७०, सिद्धार्थले २९.२९, कुमारीले १२.५५, लक्ष्मीले १२.५५ प्रभुले ८.३७ र मञ्जुश्री फाइनान्सले १.१८ प्रतिशत ऋण लगानी गर्ने छन् ।
बैंक तथा वित्तीय संस्था र प्रवर्धकको सहित ब्रम्हायणीमा ७,३४०,११६,००० र अपर ब्रम्हायणीमा ३,१२४,१६२,००० रुपैयाँ लगानी हुनेछ ।
दुबै आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ र प्रतिशत सेयरधनी प्रवर्धकले २५ प्रतिशत लगानी गर्नेछन्। आयोजनाबाट विद्युत उत्पादन भएपछि स्थानीय तथा सर्वसाधारणका लागि शेयर जारी गरिने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए ।
हाल आयोजनास्थल पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । अध्यक्ष पराजुलीले २०८२ कात्तिक मसान्तसम्म आयोजना सम्पन्न हुने लक्ष्य राखिएको जानकारी पनि दिनुभयो। दुबै आयोजनाबाट उत्पादित विद्युत जुगल गाउँपालिकामा निर्माणाधिन पाङताङ सव-स्टेशनमा जोडिनेछ ।
दुबै आयोजनाको निर्माणपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अति विकट क्षेत्रका रुपमा परिचित तेम्बाथान, तेगा, दीपु र साङलिङलगायत ठाउँका स्थानीयको जीवनस्तरमा सुधार आउने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालको अपेक्षा रहेको लगानी सम्झौता कार्यक्रममा अध्यक्ष पराजुलीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया