ऊर्जा

२०७९ सालमा थपियो ४९६ मेगावाट बिजुली

इकागज |
चैत २८, २०७९ मंगलबार १४:१२ बजे

फाइल तस्बिर

काठमाडौं - नेपालीहरूका माझबाट बिदा हुन लागेको २०७९ सालमा ४९६ दशमलब ७१९ मेगावाट उत्पादनमा आएका छन् । यो वर्ष (२०७९ साल) १९ वटा नयाँ र हाल परीक्षण कार्य पूरा भइरहेका ९ वटा गरी २८ वटा आयोजना उत्पादनमा आएका हुन् । यही चैत २७ गतेसम्मको तथ्यांअनुसार यो वर्ष सौर्य र जलविद्युत् गरी १९ वटा आयोजनाबाट ३३९.२४९ मेगावाट र परीक्षण उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिएका नौवटा आयोजनाका १५७.४७० मेगावाट आएका हु्न् ।


विद्युत् प्राधिकरणका अनुसार चैत मसान्तसम्म नेपालको कुल विद्युत् उत्पादन जडित क्षमता २५३२.३६ मेगावाट रहेको छ । यसमा प्राधिकरणको ६६१.३४ मेगावाट, प्राधिरकणको सहायक कम्पनीको ४७८.१० मेगावाट र निजी क्षेत्रको १३९२.९२ मेगावाट छन् । हाल परीक्षण उत्पादनमा रहेका नौवटा आयोजनाको कूल १५७.४७ मेगावाटसमेत गरी अहिलेसम्म देशमा कुल २६८९.८३ मेगावाट रहेको छ । 

चालू आर्थिक वर्षको असार मसान्तसम्ममा थप १२४.६९५ मेगावाट उत्पादन हुने प्रक्षेपण प्राधिकरणले गरेको छ । यो आर्थिक वर्षको अन्तसम्ममा उत्पादन हुनेलाई समेत जोड्ने हो भने अब नेपालको विद्युतु जडित क्षमता २८१४.५२५ हुनेछ । 

निजी क्षेत्रले प्रवद्र्धन गरेका ९ वटा आयोजनाको धमाधम परीक्षण उत्पादन भइरहेको छ । प्राधिकरणको नियमानुसार प्रवद्र्धकले व्यापारिक उत्पादन मिति लागू गर्न १५ दिन परीक्षण उत्पादन गर्नुपर्छ  । 

सोहीअनुसार संखुवासभाको माया खोला (१४.९ मेगावाट), रुकुमको रुकुमगाड (५ मेगावाट), कास्कीको सुपर मादी (४४ मेगावाट), सिन्धुपाल्चोकको घट्टेखोला (९७० किलोवाट), लमजुङको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट), नवलपरासीको सौर्य (२ मेगावाट), मोरङको सौर्य (६.८ मेगावाट), सोलुखुम्बुको माथिल्लो सोलु (१९.८ मेगावाट) र बाँकेको सौर्य (१० मेगावाट) परीक्षणका क्रममा छन् । 

परीक्षण उत्पादनको क्रममा रहेका यी नौवटा आयोजनाको व्यापारिक उत्पादन छिट्टै हुने प्राधिकरणले जनाएको छ । ‘परीक्षण उत्पादन भइरहेको हुनाले हामीले त्यसलाई ग्रीडमा जोडेका छौं,’ प्राधिकरणका एक अधिकारीले भने, ‘ग्रीडमा जोडिएकाले जडित क्षमतामा पनि आइहाल्यो ।’

चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा जम्मा १९ वटा नयाँ आयोजना (सौर्य र जलविद्युत्) ले व्यापारिक उत्पादन सुरु गरे । यिनको जडित क्ष्ँमता ३३९.२४९ मेगावाट छ । यो वर्ष प्रणालीमा थपिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) रहेको छ । यो आयोजनाबाट गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो । 

यो वर्षको सबैभन्दा पछिल्लो थपिएको आयोजना दार्चुलाको मकरीगाड (१० मेगावाट) हो । गत फागुन २७ गतेदेखि यो आयोजनाको व्यापारिक उत्पादन सुरु भएको हो ।


Author

थप समाचार
x