सीता हाइड्रोपावरले यसरी गर्यो दुई जनाको ‘हत्या’
अन्ततः झुके सीताराम तिमिल्सिना
जुगल (सिन्धुपाल्चोक)- सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३ मा १४ वर्षअघि जन्मेकी थिइन् नोर्जी वाङमु लामा । सानैदेखि तीक्ष्ण दिमाग र समाज सेवाको भावना बोकेकी उनै नोर्जी गत फागुन १५ गतेबाट यो धर्तीमा रहिनन् ।
सीता हाइड्रोपावरले निर्माण गर्न लागेको न्यासिम खोला जलविद्युत् आयोजनाले जोडेको जेनेटरबाट र नेपाल विद्युत् प्राधिकरणले जोडेको बिजुली व्यवस्थित नबनाइदिँदा आमा र दाइसँग आलु रोप्न गएकी नोर्जीको फागुन १५ गते बिहान १० बजे करेन्ट लागेर मृत्यु भयो ।
नोर्जीको मृत्यु हुनुभन्दा १० दिनअघि बर्दियाबाट कामका लागि जुगल पुगेका २५ वर्षीय सरोज थारूको पनि सीता हाइड्रोपावरका कारण मृत्यु भयो । सीता हाइड्रोपावरले नै जोडेको विद्युतीय पोलमा समस्या आएपछि बनाउने क्रममा सीता हाइड्रोपावरका कर्मचारीको बेवकुफीका कारण मृत्यु भएको थियो ।
सरोज थारू हाइटेन्सन मर्मत गर्न फागुन ६ गते साँझ न्यासिम खोला जलविद्युत् आयोजनाभन्दा केही माथि बिजुली पोलमा चढेका थिए । विद्युत् मर्मत हुँदैछ भन्ने थाहा हुँदाहुँदै सीता हाइड्रोपावरका कर्मचारीले ११ हजार भोल्टेजको जेनेटर खोलिदिए । हाइटेन्सन मर्मतका लागि बिजुली पोलमा चढेका थारूको करेन्टले क्षण भरमा नै मृत्यु भयो ।
थारूको मृत्युको खबर त्यो अनकन्टार जंगल अनि साँझ कसैले देखेनन् । मर्मतका लागि गएका थारू नफर्केपछि साथीहरू खोज्न जाँदा सरोजको शरीर बिजुली पोलमा झुण्डिरहेको देखे । त्यसपछि सुरु भयो सीता हाइड्रोपावरका सञ्चालकहरूको दादागिरी ।
त्यो घटनालाई पावर र पैसाले मातिएका सीता हाइड्रोपावरका सञ्चालकहरूले दबाएर जबरजस्ती सरोज थारूको परिवारलाई तर्साएर शव बुझ्न लगाए । कम्पनीको तर्फबाट मृत्युको खबर दिनु त कता हो कता, सरोजका साथी र प्रहरीको खबरले घटनास्थल पुगेको सरोजको अभिभावकलाई थर्काएर शव बुझ्न लगाए । सरोजका अभिभावक लुरुलुरु पीडासँगै शव बोकेर हिँड्न बाध्य भए ।
सरोजको मृत्यु भएको स्थानीयले थाहा पाएपछि विद्युत् प्राधिकरणको लाइन र सीता हाइड्रोपावर चलाउने जेनेटरबीचको हाइटेन्सन ‘कट्’ गर्ने सहमति भयो ।
विद्युत् प्राधिकरण र सीता हाइड्रोपावरको कर्मचारी राखेर जुगल लगिएको बत्तीका तारहरू लगायत व्यवस्थित गर्न भन्दै तार छुटाइयो । स्थानीयले पटक–पटक बिजुलीका पोलहरूमा आगोका झिल्का देखिएको भनेर जानकारी सम्बन्धित निकायमा नगराएका होइनन् । तर, सबै कानमा तेल हालेर बसे ।
स्थानीयलाई दबाबमा राखेर न्यासिम खोला जलविद्युतका मालिक सीताराम तिमिल्सिना प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुगेका थिए । दाहालका व्यापारिक साझेदारका रूपमा चर्चित अजय सुमार्गीमार्फत तिमिल्सिनाले प्रधानमन्त्रीलाई समेत ‘उपयोग’ गर्दै आयोजना स्थलमा स्थानीयले गरेको तोडफोडको छानबिन गर्न तत्काल गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कमिटी गठन गर्न लगाएका थिए । तिमिल्सिना र सुमार्गीबीच साँढुदाइ र साँढुभाइको नाता रहेको बताइन्छ ।
तिमिल्सिनाले स्थानीयसँग भएको सहमति (दुवै तिरको बिजुलीको लाइनमा बिजुली नछाड्ने) तोड्दै फागुन १४ गते साँझ सीता हाइड्रोपावरको कर्मचारी आएर एक साताअघि छुटाइएको हाइटेन्सन तार जोड्न लगाए ।
जोडिएको हाइटेन्सनबाट करिब ८०० मिटर नजिक रहेको विद्युत् प्राधिकरणको बिजुली पोल नजिक आलु रोप्न पुगेकी नोर्जी वाङमुलाई करिब ३ मिटर वरैबाट फागुन १५ गते बिहान १० बजे तान्यो । आमा र दाइको साथमा पुगेकी नोर्जीकाे करेन्ट लागेर क्षणभरमै मृत्यु भयो । नोर्जीलाई बचाउन गएकी आमा र दाइलाई करेन्टले फालिदियो ।
आमा र दाइ घाइते भए । नोर्जीको प्राण उड्यो । गाउँलेहरू भेला भए । १० दिनमा २ जनाको प्राण पखेरु उडाउने सीता हाइड्रोपावरको कर्तुतलाई स्थानीयले सहन चाहेनन् । बच्चाको मृत्युमा आक्रोशित केही स्थानीयले विद्युत् निर्माण गृहमा सामान्य तोडफोड गरे । तर, सीता हाइड्रोपावरले स्थानीयलाई दबाउन तोडफोडको आरोपमा २२ जनालाई सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको सहयोगमा मुद्दा दर्ता गर्यो ।
मुद्दा पनि त्यस्ता व्यक्तिलाई लगाइयो कि जसले सीताराम तिमिल्सिनाका कर्तुतविरुद्ध आवाज उठाउँदै आएका, घटनामा नै संलग्न नभएका, काठमाडौँमा रहेका, मलामी गएका, मृतकका परिवारलाई भेट्न गएकाहरूलाई ३ पुस्तेसम्म नखुलाइ हतार–हतारमा मुद्दा चलाइयाे ।
समय लगाएर सिन्धुपाल्चोक प्रहरीले सबैको पुस्ता खुलाएर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराई पक्राउ गर्ने प्रकिया अगाडि बढायो । प्रहरी प्रशासनलाई दबाबमा राखेर छोटे राजा बन्न खोजेका सीता हाइड्रोपावरका सञ्चालकहरू स्थानीयलाई पक्राउ गर्न नसेकोकोमा प्रहरी प्रशासनसँग रुष्ट थिए ।
प्रहरीले पक्राउ गर्न नसकेपछि सीतारामले एउटा नाटक नै गरे । वार्ता गर्न बोलाएर सीतारामले दुई जनालाई पक्राउ गराए ।
फोनबाट छलफल हुँदै अगाडि बढेको वार्ता टेबलमा बसेर सुरु भयो । चैत्रको दोस्रो साता पहिलो टेबल वार्तामा कुरा नमिलेपछि वार्ताका निर्देशकका रूपमा उदाएका ब्रम्ह्रायणी हाइड्रोपावरका सञ्चालक भरत पराजुलीले आफ्नै कार्यालयमा वार्ताको टेबल खडा गरे । चैत २७ गते मध्याह्न सुरु भएको वार्तामा थिए, पक्राउ पुर्जी जारी गरिएका मृतक नोर्जीकी मामा अभि तामाङ र हिमाल पाख्रिन ।
यी दुई जनालाई वार्ता स्थलबाट सोही समयमा नै सिन्धुपाल्चोकबाट सादा पोशाकमा आएका प्रहरी र कोटेश्वरस्थित तीनकुने प्रहरी प्रभागबाट खटेको टेलीले हत्कडी लगाएर सिन्धुपाल्चोक पुर्यायो ।
अभि तामाङ र हिमाल तामाङ दुवै जना तोडफोडमा संलग्न थिएनन् । आरोप नस्वीकारेपछि सीता हाइड्रोपावरको दिनगन्ती सुरु भयो । राजनीतिक पहुँचबाट मातिएका बाघ अब रुझेको स्याल बन्ने दिशामा झर्दै गए ।
करिब १९ दिनको हिरासतमा रहेका अभि र हिमाल लगायत बाँकी २० जना र पछि थपिएका २ जना मृतक नोर्जी वाङमुको बुवालाई समेटेर हालेको मुद्दा फिर्ता लिन बाध्य बन्यो । सीता हाइड्रोपावर प्रालि र जमानतमा अभि र हिमाल गत शुक्रबार हिरासत मुक्त भए ।
स्थानीयलाई दबाएर जुगल गाउँको प्राकृतिक सम्पदा दोहन गर्ने, स्थानीय सोझा जनतालाई झुटमा मुद्दा लगाएर फसाउने र मनपरी रजाइँ गर्ने योजना स्थानीयको निरन्तर दबाब र एभिन्युज टेलिभिजनको खबरदारीका कारण अन्ततः झुक्न पुगे सीताराम तिमल्सिना ।
तिमिल्सिना फाल्गुण ६ र १५ गते करेन्टका कारण मृत्यु भएका सरोज थारू १४ लाख र नोर्जी वाङमुको परिवारलाई १० लाख दिन बाध्य भए । ‘एक रुपैयाँ दिन्नँ, जहाँ गएर मुद्दा मामिला गरे हुन्छ’ भन्ने अभिव्यक्ति दिएका तिमल्सिना अन्ततः क्षतिपूर्ति दिन र २४ जनालाई लगाएको मुद्दा फिर्ता लिन बाध्य भए ।
कुनै परियोजना चल्न स्थानीयको सहमति र सहभागिता हुन जरुरी छ । शक्ति केन्द्रमा सबै आफ्नो चल्छ भन्ने भ्रमबाट सीताराम तिमल्सिना मुक्त हुनुपर्छ । पहिलो अधिकार जनताको हो । एकै पटक स्थानीयलाई फसाएर अगाडि बढ्ने सोच पालेर हिँडेका सीतारामले जलविद्युत् आयोजना निर्माणका क्रममा अधिग्रहण गरिएका करिब २५० रोपनी जग्गाका जग्गा धनीहरूलाई अझै मुआब्जा रकम दिएका छैनन् ।
मान्छेको मृत्युमा रमाउने हाइड्रोपावरहरूको नमूना हो सीता हाइड्रोपावर । जसले पीडितको आँसु बुझ्न चाहेन ।
र, यो पनि
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया