ऊर्जा

सिन्धुज्वाला हाइड्रोपावरमा अर्जुनबन्धु रेग्मीको ज्यादती

मिलेमतोमा यसरी पक्राउ गराए अध्यक्ष चुर्णप्रसाद श्रेष्ठलाई

इकागज |
जेठ १७, २०८० बुधवार १६:४६ बजे

काठमाडौँ- सिन्धुज्वाला हाइड्रोपावर कम्पनी लिमिटेडका अवैध अध्यक्ष अर्जुनबन्धु रेग्मीले उक्त कम्पनीका वैध अध्यक्ष चुर्णप्रसाद श्रेष्ठलाई प्रहरीसित मिलेमतो गरी पक्राउ गराएका छन् ।

आफूले आफैँलाई अध्यक्ष घोषित गरी तीन वर्षदेखि कम्पनी कब्जा गर्दै आएका रेग्मीले अध्यक्ष श्रेष्ठलाई ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूर’ मुद्दा लगाएर हिजो (मंगलबार) पक्राउ गर्न लगाएका हुन् ।


उच्च अदालत पाटनले यही जेठ ८ अध्यक्ष चुर्णप्रसाद श्रेष्ठ नै वैध भएको र कम्पनी रजिष्ट्रार कार्यालयले २०७९ वैशाख २ मा गरेको निर्णयलाई नै सदर गरेको एक सातापछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले यही जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २६ सम्बन्धी कसूर अन्तर्गत कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने, कसैले कुनै काम गर्ने नियतले हुल हुज्जत गरी वा नगरी अनधिकृत रूपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गर्न नहुने लगायतका दफा छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले २०७९ वैशाख २ गते श्रेष्ठ नै वैधानिक अध्यक्ष भएको निर्णय गरेपछि उनी रेग्मीले कब्जा गरेको कम्पनीको कार्यालयमा बेलाबेला जाने गरेका थिए । आफ्नो कार्यालयमा गएकै आधारमा उनलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दा लगाउनुले अदालतका कर्मचारी र प्रहरीको मिलेमतो देखिएको छ ।
‘उपद्रवसम्बन्धी कुनै घटना नै भएको छैन, कसरी यो मुद्दा लाग्छ ?’ कम्पनीका शेयरहोल्डर हेम बस्नेतले बुधबार इकागजसँग भने, ‘यस्तो मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी हुन र प्रहरीले पक्राउ गर्न वारदात त हुनुपर्यो नि ।’

जाहेरीकै आधारमा प्रहरी पक्राउ गर्ने अनुमति माग्नु र अदालतले पनि प्रहरीले भनेकै भरमा पक्राउ पुर्जी जारी गर्नु संयोग मात्र हुन सक्दैन ।

उच्च अदालतबाट वैधता पाएका श्रेष्ठलाई पक्राउ नगरिकन मुद्दा चलाउन पनि सकिने तर यो प्रहरीको तजबिजमा भर पर्ने वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले बताए । ‘जाहेरवाला र प्रहरीको कुरो मिल्यो भने पक्राउ गर्न सक्ने भयो,’ उनले भने, ‘पक्राउ नै परिसकेपछि अब अनुसन्धान हुने नै भयो ।’

उक्त कम्पनीले बनाउन लागिरहेको नेसम खोला ए (४३ मेगावाट) र नेसम (२१ मेगावाट) का दुई आयोजना तीन वर्षदेखि रेग्मीले बन्धक बनाउँदै आएका थिए । कम्पनीमा १८ सय शेयरधनीको ५८ करोड रुपैयाँ डुबेको छ । यता समयमा काम हुन नसकेपछि आयोजनाको अनुमति पत्र खारेज हुने प्रक्रियामा पुगेको छ ।

रेग्मी विनालगानी बैंकको नक्कली भौचर देखाई अवैध रूपले अध्यक्ष बनेका थिए । आफ्नै शेयरहोल्डर, कर्मचारी र उनीसित कुरो नमिल्लेलाई मुद्दा लगाई दुःख दिन रेग्मी माहिर छन् । 

उनलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरी बानेश्वर वृत्तमा लगेको छ । बानेश्वर वृत्तका प्रहरीले श्रेष्ठको गिरफ्तारीबारे बताउन चाहेन । त्यहाँ रहेका ड्युटी अफिसरले आज तीन बजे इकागजसँग भने, ‘पक्राउबारे बुझ्न चाहेमा पक्राउ परेका आफन्तलाई यहाँ पठाइदिनू ।’

पक्राउ परेको दिन अध्यक्ष श्रेष्ठ प्रभु बैंकमा थिए । उनी ४३ मेगावाटको नेसम खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) को बैंक ग्यारेन्टी नवीकरण गर्न पुगेका थिए । त्यो बेला अवैध अध्यक्ष रेग्मी पनि बैंकमा आई ‘हामीहरूको विवाद मिलिसक्यो, नवीकरणीय गरिदिए हुन्छ’ भनेर त्यहाँबाट हिँडेका थिए ।

रेग्मी बैंकबाट निस्केको एक घण्टापछि सोही बैंकमा बसिरहेका अध्यक्ष श्रेष्ठलाई पक्राउ गर्न आफैँ प्रहरी लिएर पुगेका थिए । प्रहरीले श्रेष्ठलाई म्याद थप गर्न आजै जिल्ला अदालत पेस गरेको जनाएको छ ।



Author

थप समाचार
x