प्रधानमन्त्रीद्वारा नयाँ भरतपुर सबस्टेसन र बर्दघाट प्रसारण लाइन उद्घाटन
निर्माण सम्पन्न हुन १३ वर्ष लाग्यो
भरतपुर (चितवन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ दुई ठूला विद्युत् संरचनाको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले मंगलबार चितवनको भरतपुर महानगरपालिका–११ पिस्थतत आँपटारीमा मर्स्याङ्दी कोरिडर २२० केभी भोल्टेज लेभलको प्रसारण लाइन आयोजना अन्तर्गतको सबस्टेसन र हेटौंडा–बर्दघाटा २२० केभी भोल्टेज लेभलको प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन उद्घाटन गरेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन पनि उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले उद्घाटन गरेका सबस्टेसन ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित छ ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । सबस्टेसनको लागत १ अर्ब ५२ करोड र प्रसारण लाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र अतिरिक्त विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे ।
‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं, नेपालको विद्युत् बंगलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ,’ उनले भने ।
‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरू हुँदै छन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ,’ उनको भनाइ थियो ।
प्रधानमन्त्रीले जलविद्युत तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने पनि उल्लेख गरे ।
१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत रूपान्तरणकारी आयोजना र १०,८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्रीले उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रूपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र अतिरिक्त भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको बताए । उनले यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाइएको उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस प्रसारण तथा वितरण लाइन निर्माणले मुलुकको समग्र विद्युत् आपूर्तिमा सुधार हुने बताए ।
उद्घाटन गरिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछिहटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ टेण्डर गरेको थियो । २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो ।
भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी रहेको काम गर्न २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो ।
सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण गरिएको थियो ।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत अन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका २०७७ असारमा ठेक्का सम्झौता भएको थियो । कोभिड–१९को महामारीका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।
दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ भने अन्य सबस्टेसनहरू निर्माणाधीन छन् ।
नयाँ भरतपुर सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । उक्त प्याकेज अन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया