ऊर्जा

तनहुँ जलविद्युत्​ आयोजनाको एक हजार एक सय मिटर सुरुङ निर्माण

इकागज |
असोज २, २०८० मंगलबार २१:१८ बजे

फाइल तस्बिर ।

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ एक हजार एक सय मिटर लामो सुरुङ निर्माण गरिएको छ ।    
    
 कूल एक हजार चार सय ५६ मिटर सुरुङमध्ये अब तीन सय ५६ मिटर दूरी खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगतितर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माण कार्यको २५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।    
    
 उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा सम्झौता गरेको थियो । प्याकेज–२ अन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने सुरुङको सबै कार्य सम्पन्न भइसकेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भइरहेको छ । वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणमा समस्या भएको छ । उक्त प्याकेजको ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख राजाभाई शिल्पकारले जानकारी दिए ।    
    
 कूल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।    
    
 त्यसैगरी, आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा सम्झौता भएको थियो थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो ।    
    
 त्यसैगरी प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण भइरहेको छ । उक्त प्याकेजको कामका लागि केइसीसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो । उक्त प्याकेजको ६९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।    



Author

थप समाचार
x