विद्युत् महसुल नबुझाएका ५३ ग्राहकको लाइन काटियो
सांकेतिक तस्विर
तनहुँ - विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकहरुको धमाधम विद्युत् लाइन काट्न सुरु गरेको छ । आइतबार र सोमबार गरी दुई दिनमा ५३ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रले जनाएको छ ।
ग्राहकबाट १० लाख ६१ हजार १० महसुल संकलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । उक्त लाइन काटिएकामध्ये ३४ जना ग्राहकले रकम बुझाएर पुनः लाइन जडान गरेका छन् । उनले भने, “लाइन काटिएका ग्राहकले पुनः लाइन जडान गर्दा रु पाँच लाख तीन हजार छ सय ७८ महसुल संकलन भएको छ ।”
कार्यालयले विद्युत् लाइन काट्ने अभियानलाई दैनिकरुपमा निरन्तरता दिन लागेको उनले बताए । मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकको विवरण निकाली लाइन काट्न सुरु गरेको सो केन्द्रले जनाएको छ ।
लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत अतिरिक्त जरिवाना तथा लाइन जोड्नका लागि दस्तुर रु आठ सय ४७ समेत बुझाउनुपर्ने प्रावधान रहेको छ ।
विद्युत् महसुल संकलन विनियमावली २०७८ अनुरुप मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाएमा ग्राहकले दुई प्रतिशत छुट पाउने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार आठौँ दिनदेखि १५ दिनसम्म बुझाएमा बिलअनुरुप महसुल बुझाउन पाइन्छ तर जरिवाना लाग्दैन । त्यसैगरी, १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । जिल्लामा हालसम्म साठी हजारभन्दा बढी विद्युत् ग्राहक छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया