ऊर्जा

आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुट्यो

इकागज |
असार ७, २०८१ शुक्रबार १९:३३ बजे

काठमाडौँ- आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गर्का छन् । 


सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैंक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैंकहरूमा एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । इक्विटीमा आईएमई  समूह र सर्वसाधारणको लगानी रहने छ ।

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये  नबिल बैंकको ३ अर्ब  १२ करोड,  एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक, प्रत्येकले १ अर्ब रुपैयाँ रहने छ । मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन बाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरू भइरहेका छन् ।


Author

थप समाचार
x