Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

ऊर्जा

डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल विवाद

बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

इकागज |
असार २७, २०८१ बिहीबार १८:२४ बजे

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले थप दुई वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले रुपन्देहीको भैरहवामा रहेको जगदम्बा सिन्थेटिक उद्योग र बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको लाइन काटिदिएको हो ।

भैरहवा वितरण केन्द्रबाट विद्युत् सेवा लिइरहेको जगदम्बा र सिमरा वितरण केन्द्रबाट विद्युत् सेवा लिइरहेको हुलासको लाइन बुधबार राति ९ बजेदेखि काटिएको हो ।


जगदम्बाले करिब २० करोड ५० लाख ४३ हजार रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी रहेको भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले बताए । त्यस्तै, हुलासले करिब ११ करोड २९ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । यो समेत गरी प्राधिकरणले हाल ५ वटा उद्योगको लाइन काटिसकेको छ । यसअघि बक्यौता महसुल नतिरेको भन्दै प्राधिकरणले मंगलबार राति ९ बजेदेखि ३ वटा उद्योगको लाइन काटेको थियो ।

रिलायन्स स्पिनिङ  मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् लाइन मंगलबार रातीबाट काटेको थियो । रिलायन्स स्पिनिङ मिल्सले करिब ७५ करोड, घोराही सिमेन्टले ५१ करोड र अर्घाखाँची सिमेन्टले ४४ करोड रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।


Author

थप समाचार
x