ऊर्जा

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित

इकागज |
असार २९, २०८१ शनिबार १५:७ बजे

फाइल तस्बिर

तनहुँ- एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 


प्रसारण लाइन निर्माणका लागि रुख कटान गर्न सरकारका तर्फबाट स्वीकृति प्राप्त भइसके पनि स्थानीयस्तरमा सहमति नहुँदा प्रसारण लाइन निर्माणको काम प्रभावित भएको उनको भनाइ छ । तनहुँतर्फको भागमा समस्या नरहे पनि चितवनतर्फ समस्या रहेकाले समस्या समाधान गर्नेतर्फ आयोजना लागिरहेको भण्डारीले बताए । 

प्रसारण लाइन निर्माणको काम हालसम्म ७३ दशमलव पाँच प्रतिशत सकिएको छ । प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये हालसम्म ७७ टावरको जग हाल्ने र ६९ टावर जडान कार्य सम्पन्न भइसकेको छ । तीन टावरको जग हाल्ने कार्य जारी रहेको बताउँदै भण्डारीले २० वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार दुई स्थानमा जग संरक्षणको काम भइरहेको छ । 

केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद थप गरिएको थियो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म रहेको छ । 

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज–१ को हालसम्मको प्रगति ३३ दशमलव दुई प्रतिशत भएको छ । 

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । 

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजना स्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ ।


Author

थप समाचार
x