ऊर्जा

लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरे : कुलमान घिसिङ

इकागज |
साउन ३१, २०८१ बिहीबार १५:३९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । 

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन् ।


केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाउँमा पुगेर प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ भन्दै प्रश्न गरे । ​

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । त्यस्तै उनले आठ बर्ष अघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो सुखद विषय रहेको धारणा राखे । 

नेपालको विद्युत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनले बताए । घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले रु १ खर्ब लगानी गरेको जानकारी पनि दिए । ​

उनले आफ्नो दोस्रो कार्यकालको अन्तिम वार्षिकोत्सव मनाउने वर्ष भएको र अर्को वर्ष साउन २५ गते आफ्नो चार वर्षे कार्यअवधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने बताए । 


Author

थप समाचार
x