ऊर्जा

सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गरेको उर्जामन्त्रीको दाबी

इकागज |
कात्तिक ७, २०८१ बुधबार १४:३३ बजे

फाइल फाेटाे

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारको १०० दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका छन् ।

आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले मन्त्रालयको नीति, योजना तथा कार्यक्रम र गतिविधिहरूलाई प्रभावकारी रुपमा अगाडि बढाइएको र लक्ष्य अनुसार सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका हुन् । यसबीचमा आएको बाढी र पहिरोपछि उद्धार राहत तथा विद्युत आपूर्ति लगायतका सेवा पुराउनुपर्ने क्षेत्रमा ध्यान केन्द्रित गरेकाले लक्ष्य अनुसारको अन्य कामहरू चाँडै सम्पन्न हुने उनले बताए । 


उनले ठूला जलविद्युत् परियोजना, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता र दुर्गम क्षेत्रमा विद्युत विस्तार लगायतका कार्यहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जिकिर गरे । मन्त्री खड्काले अन्तरदेशीय विद्युत व्यापार र जलस्रोत व्यवस्थापनका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई तीव्रता दिइएको, बाढी नियन्त्रण, बहुउद्देश्यीय आयोजनाको विकास र सिँचाइ सुविधाको विस्तार लगायतका क्षेत्रमा समेत महत्वपूर्ण उपलव्धि हासिल गरेको जानकारी दिए । ​

एकबर्षभित्र देशका सवै नागरिकको घरमा विद्युत पुराउने, विद्युतको स्वदेशमा नै अधिकतम खपत गर्ने र बाँकी रहेको बिजुली भारत र बङ्गलादेशमा बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए । 

त्यस्तै मन्त्री खड्काले डडिकेटेड तथा ट्रंकलाइनका बिषयमा देखिएको असमझदारी मन्त्रालय र विद्युत प्राधिकरण मिलेर टुङ्गोमा पुराउने जिकिर गरे ।  प्राधिकरण र मन्त्रालयबीचको मतभेदको कुरा समाचारका शीर्षकमात्रै भएको र यसमा कुनै सत्यता नरहेको उनले बताए । उनले कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने कुनै सोच नरहेको उल्लेख गरे ।  मन्त्रालय र प्राधिकरणको टीम मिलेको भन्दै मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको पनि बताए । ​

उनले व्यवसायीसँगको विवादलाई अन्त्य गर्दै प्रयोग भइसकेको बिजुलीको बक्यौता प्रमाणका आधारमा असुलउपर गर्ने स्पष्ट पारे । 


Author

थप समाचार
x