ऊर्जा

हाइड्रो-मेकानिकलको गुणस्तरमा लापरवाही

साहस ऊर्जाका दुई इन्जिनियरको दुर्घटनामा मृत्यु

इकागज |
पुस १२, २०७८ सोमबार १३:५१ बजे

आयोजनाको विद्युत् गृह रहेको सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकास्थित राखिएको पेनस्टक पाइप । यही पाइप फुट्दा उक्त दुर्घटना भएको हो । तस्वीर : साहस ऊर्जा

काठमाडौं - साहस ऊर्जा लिमिटेडले बनाउँदै गरेको दूधकोसी (८६ मेगावाट) को पेनस्टक पाइपको प्रेसर परीक्षण गर्ने क्रममा पाइप पड्कदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार पेनस्टक पाइपको हाइड्रोलिक टेस्ट (पाइपले पानी थेग्न सक्ने परीक्षण) का क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । मृत्यु हुनेहरुमा आयोजनामा कार्यरत अछामका सुवासराज काफ्ले र काभ्रेका अर्जुन थापा छन् ।


‘पाइपको ज्वाइन टेस्ट गर्न पानी राखेर हेर्नुपर्ने हुन्छ,’ पाठकले सोमबार इकागजसँग भने, ‘दुर्भाग्यवश प्रेसर टेस्ट गर्ने क्रममा पाइप फुटेर दुर्घटना भयो ।’ यो आयोजनामा ६ सय मिटरको उचाइबाट प्रतिसेकेण्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको अत्यधिक चाप सहन नसकी फुटेको देखिन्छ । यसले आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलका कार्य गुणस्तरहीन रहेको संकेत गरेको छ । 

आयोजनामा हाइड्रो–मेकानिकलको ठेकेदार माछापुच्छ«े मेटल एण्ड मेसिनरी वक्र्स प्रालि छ । यसको परमार्शदातामा नेपालको हाइड्रो–कन्सल्ट इन्जिनियरिङ लिमिटेड र फिचनर जीएमबीएच एण्ड कम्पनीको संयुक्त उपक्रम छन् । डेढ वर्षअघि मेलम्ची खानेपानीको सुरुङमा रहेको ढोका फुटी एकजना इन्जिनियर र एकजना कर्मचारीको ज्यान गएको थियो ।

 


Author

थप समाचार
x