ऊर्जा

भारतबाट बिजुली आयात ४६८ मेगावाट

स्वदेशका उत्पादन आधाभन्दा कम

इकागज |
माघ १८, २०७८ मंगलबार १८:२५ बजे

काठमाडौं : जडित क्षमताभन्दा झन्डै आधा उत्पादन घटेपछि भारतबाट विद्युत् आयात पनि उकालो लाग्न थालेको छ ।  ऊर्जाको खपत वृद्धिसँगै स्वदेशी जलविद्युत् गृहका उत्पादनमा ह्रास आएपछि विद्युत् प्राधिकरणले ११ हजार २ सय ३८ मेगावाट घण्टा (४६८ मेगावाट) बिजुली आयात गरेको छ । प्राधिकरणका अनुसार आगामी दिनमा ८ सय मेगावाटसम्म आयात हुने अनुमान छ ।

गत वर्ष आयात गरिएकोभन्दा यो परिमाण अझ कम हो । गत वर्षको माघ महिनामा प्राधिकरणले भारतबाट ७२७ मेगावाट आयात गरेको थियो । यसपालि माथिल्लो तामाकोसीको उत्पादन थपिएपछि आयात कम भएको हो ।


प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार यतिबेला उच्चतम माग (पिक) १७१० मेगावाट पुगेको छ । अघिल्लो वर्ष ३१ जनवरी, २०२१ मा सुख्खायामको सबैभन्दा उच्चतम माग १४७४.७९ मेगावाट थियो । 

त्यसैगरी गत वैशाख (२६ अप्रिल, २०२१) को उच्चतम माग १४८१.८५ मेगावाट थियो । जाडो बढेकाले बिजुली खपत पनि वृद्धि भएको निर्देशक भट्टराईले बताए । उनका अनुसार प्रणालीमा बिजुलीको माग २९ हजार ४ सय ४८ मेगावाट घण्टा (झन्डै ३ करोड युनिट) पुगेको छ ।

विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी र निजी क्षेत्र गरी देशभर हाल झन्डै २ हजार मेगावाटको जडित क्षमता छ । तर प्राधिकरणका आफ्नै विद्युत् गृहबाट २९१ मेगावाट मात्र उत्पादन भइरहेको छ । त्यस्तै निजी क्षेत्रबाट ३२३ मेगावाट र प्राधिकरणका सहायक कम्पनीहरुबाट १४३ मेगावाट उत्पादन भएको छ ।

देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी (४५६ मेगावाट) ले मेगावाट घण्टा (करिब ९६ मेगावाट) मात्र उत्पादन गरेको छ । साँझपखको पिकको समयमा भने माथिल्लो तामाकोसीले ४५६ मेगवाट नै उत्पादन गर्न सक्छ ।

निजी क्षेत्रको करिब ८ सय मेगावाट जडित क्षमता भए पनि आधाभन्दा कम उत्पादन भएको छ । निजी क्षेत्रका सबै जलविद्युत् गृहहरु नदी प्रवाही छन् । प्राधिकरण र उसका सहायक कम्पनीहरुबाट उत्पादित बिजुली मात्र अर्धजलाशय (पिकिङ) युक्त भएकाले उच्चतम माग भएका बखत जडित क्षमताअनुसार उत्पादन गर्न सक्छन् । 

प्राधिकरणले गत पुसको अन्तिम सातादेखि भारतबाट आयाती बिजुलीको परिमाणलाई बढाएको छ । ‘लाइनको फल्ट नभएमा र भारततर्फ कुनै व्यवधान नभए बिजुली आपूर्तिमा समस्या नहोला,’ भट्टराईले मंगलबार इकागजसँग भने । 


Author

थप समाचार
x