सुनसरी मोरङका उद्योगमा १४ घण्टासम्म लोडसेडिङ
उद्योगीहरुले भने– ‘कुलमानजीले हामीलाई ढाँट्नुभयो’
विराटनगर – एक सातायता दैनिक १४ घण्टासम्म ‘अघोषित’ लोडसेडिङ हुन थालेपछि मोरङ–सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरुले चर्को विरोध जनाएका छन् । लोडसेडिङका कारण ६० प्रतिशतसम्म उत्पादन कटौति गर्न थालेको उनीहरुले बताए । पाँच बर्ष अघि पनि औधोगिक क्षेत्रमा हुने गरेको अत्याधिक लोडसेडिङको समस्याबारे सरकार र विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदा गराउँदै थाकेका उद्योगी व्यवसायीहरु पछिल्ला दिनमा लोडसेडिङ अन्त्य भएको महसुस गर्दै उद्योग व्यवसाय ‘एक्सटेन्सन’ केन्द्रीत थिए ।
अब कहिल्यै लोडसेडिङ नहुने भन्दै आश्वस्त पारेर पुनः १४ घण्टासम्म लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीहरुले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफुहरुलाई ढाँटेको आरोप लगाए । उनीहरुले लोडसेडिङको समस्याका बारेमा यथार्थ जानकारी समेत नपाएको र लोडसेडिङको सेड्युल समेत उपलब्ध नगराएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको आलोचना गरे ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग परिसंघ प्रदेश १ समितिले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै लोडसेडिङ अन्त्य भयो भनेर सरकारले उद्योगीहरु व्यवसायीहरुलाई गुमराहमा राखेको आरोप लगाए । बैंकको चर्को व्याजदरविरुद्ध आवाज उठाइरहेको बेलामा प्राधिकरणले अघोषित लोडसेडिङ गरेर थप आहत बनाएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।
‘सरकारले जहिल्यै उद्योगी व्यवसायीहरुलाई मात्रै अचानोमा पार्यो, औधोगिक फिडरमा अहिले १४ घण्टासम्म विद्युत कटौति भइरहेको छ’ अध्यक्ष रिजालले भने, ‘प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सरले उद्योग उद्योग पुगेर विद्युत चाहिएजति छ भन्नुभयो, अहिले भारतबाट महंगोमा विजुली ल्याउनु परेको भन्दै हामीलाई नै गुमराहमा राख्न खोजेको पाइयो ।’ उनले जेनेरेटरबाट उद्योग चलाउँदा पनि डिजेलको लागतले उत्पादनको लागत बढ्ने र आयल निगमले पनि डिजेल खरिद गर्दा नेपाली रुपैयाँ नै विदेशिने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमै पुगेर चाहेजति विद्युत दिन्छौं भनेको स्मरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले ग्राहकलाई नै गुमराहमा राख्न खोजिएको आरोप लगाए । उनले भनाई र गराईमा फरक देखिएकोले सरकार र प्राधिकरणको जवाफदेहितामाथि प्रश्न उठाए ।
‘पिक आवरको समय देखाएर उद्योग व्यवसायको लाइन काटिएको छ, हाम्रो देशमा अब बिद्युत जाँदैन भनिएको थियो, हामीलाई उद्योगमा लगानी गर्न भनियो, उद्योगीहरुले पनि करोडौं लगानी फसाइसके’ उनले भने, ‘आज प्राधिकरणले हात उठाउन मिल्दैन, हामीले जान्न खोज्दा कुलमानजी सम्पर्कमा आउन चाहनु भएन ।’ उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पहिले दुई रुपैयाँ प्रति युनिटमा खरिद गरेर प्राधिकरणले उद्योगीहरुलाई ७÷८ रुपैयाँमा विद्युत बिक्री गर्दै नाफामुखी भएको, तर अहिले उद्योगीहरुलाई पर्दा अघोषित रुपमा लोडसेडिङ सुरु गरेको दाबी गरे । उनले प्राधिकरणले १४ घण्टासम्म विद्युत कटौति गरेपनि उद्योगीहरुलाई सेड्युल दिन नचाहेको बताए ।
‘अब फेरी उद्योगधन्दा बन्द हुने भए, सरकार गम्भीर बन्दै बनेन’ घिमिरेले भने, ‘अब प्राधिकरणले महंगोमा किनेर भएपनि विद्युत उपलब्ध गराउनु पर्छ, हिजो हामीसँग लिएको नाफा यहि बेलामा लगानी गर्नुपर्छ ।’ पहिले बंगलादेश र भारतसम्म विद्युत बेच्ने भनेर हल्ला गरिएपनि अहिले आएर सरकार मौन देखिएको उद्योगी पवन सारडाले बताए ।
उद्योगीहरुले सरकारलाई अप्ठेरो नै परेको भए आफुहरु ‘पिक आवर’ मा उद्योग बन्द गर्न समेत तयार रहेको बताए । तर १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरेर प्राधिकरणले उद्योगी व्यवसायीलाई समस्यामा पारेको गुनासो गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया