ऊर्जा

बिम्सटेक ऊर्जा मन्त्रीस्तरीय बैठक मंगलबारदेखि

ऊर्जा व्यापार, प्रसारण लाइन र ऊर्जा केन्द्र स्थापना प्रमुख एजेन्डा

इकागज |
बैशाख २, २०७९ शुक्रबार १७:५२ बजे

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को मन्त्री तथा सचिव स्तरीय बैठक आगामी मंगलबार (वैशाख ६ गते) र बुधबार हुने भएको छ । नेपाल आयोजक रहेको यो बैठक भर्चुअल हुनेछ ।

बिम्सटेकका सातवटा क्षेत्रमध्ये ऊर्जा क्षेत्रको छुट्टै मन्त्री र सचिवस्तरीय बैठक हुन लागेको नेपालका ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए । उनका अनुसार बिम्सटेक सदस्य राष्ट्रबीच ऊर्जा व्यापार, ग्रीड इन्टरकनेक्सन (अन्तरदेशीय प्रसारण लाइन) र इनर्जी सेन्टर (ऊर्जा केन्द्र) स्थापना गरी तीनवटा मुख्य एजेन्डा छन् ।


बिम्सटेकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य राष्ट्र छन् । यी राष्ट्रबीच ऊर्जा व्यापार कसरी गर्ने, त्यसको आधार तयार गर्ने, व्यापारका लागि वातावरण बनाउने विषयमा छलफल हुने सचिव कार्कीले बताए ।

सदस्य राष्ट्रहरु ऊर्जा व्यापारमा सहभागी हुन आवश्यक पर्ने ग्रीड इन्टरकनेक्सनको बारेमा पनि छलफल हुनेछ । एक देशको विद्युत् प्रणालीलाई अर्काे देशसँग तादाम्यता कसरी मिलाउने (ग्रीड सिंक्रोनाइजेशन) र ऊर्जा केन्द्र स्थापना गरी यी तीन विषयमा छलफल हुनेछ । 

मंगलबार सचिव स्तरीय बैठक हुनेछ भने त्यसको भोलिपल्ट बुधबार बिम्सटेक मन्त्रीस्तरीय बैठक हुनेछ । मन्त्री स्तरीय बैठकमा नेपालकी ऊर्जा मन्त्री पम्फा भुसाल सहभागी हुने तय भएको छ । दुई वर्षअघि नै हुनुपर्ने सचिव/मन्त्रीस्तरीय बैठक कोभिड–१९ का कारण पर धकेलिएको हो । 

सन् १९९७ को जून ६ तारखिमा थाइल्याण्डको बैंककमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डको आर्थिक सहयोगको एक समूह, जसलाई बिस्टेक भनिन्थ्यो, गठन भएको थियो । सन् १९९७ को डिसेम्बरमा म्यानमार सहभागी भएपछि यसको नाम बिम्सटक भयो । नेपाल र भुटान भने सन् २००४ को फेब्रुअरीमा यसको सदस्य भएका थिए । 

नेपालमा सन् २०१८ को अगष्टमा बिम्सटेकको चौथो शिखर सम्मेलन भएको थियो । बिम्सटेकमा सुरुमा सहयोगका १४ क्षेत्र समावेश गरिएको थियो । यसलाई पछि सातवटा क्षेत्रमा सहकार्य गर्ने सहमति भयो । ती सातमध्ये नेपाल ‘पिपुल–टु–पिपुल कन्ट्याक’ (नागरिक–नागरिक सम्पर्क) विषयको नेतृत्व गरिरहेको छ । यसअन्तर्गत संस्कृति, पर्यटन र नागरिक नागरिक सम्पर्क मञ्चहरु छन् । 

विम्सटेकमा सार्क सदस्य राष्ट्र पाकिस्तान सहभागी छैन । भारत र पाकिस्तानको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन सन् २०१४ मा नेपालमा भएको थियो । हरेक दुई, दुई वर्षमा शिखर सम्मेलन हुँदै आएको सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुनुपर्ने थियो । तर भारत र पकिस्तानको विवादका कारण अहिलेसम्म हुन सकेको छैन । 


Author

थप समाचार
x