ऊर्जा
दुई बृहत् आयोजनामा लगानी गर्न भारत इच्छुक
काठमाडौँ- भारतको सरकारी कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पाेरेशन (एनएचपीसी) ले दुई ठूला जलविद्युत् आयोजना नेपालसँग संयुक्त लगानीमा निर्माण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै गरेको प्रस्तावमा एनएचपीसीले मुगु कर्णाली (१९०२ मेगावाट, जलाशययुक्त) र फुकोट कर्णाली (४८० मेगावाट, अर्धजलाशययुक्त) मा ५१ प्रतिशत शेयर रहने गरी प्रस्ताव गरेको हो ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार एनएचपीसीले प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि नै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरी दुई देशका प्रधानमन्त्रीस्तरमा ‘अवगत’ गराउन खोजेको थियो । तर मन्त्रालयले यसको कानुनी, आर्थिक र प्राविधिक पक्ष निर्क्यौल गरेर मात्रै एमओयू गर्न सकिने जवाफ दिएको थियो ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले जारी गरेको ६ बुँदे ‘भिजन स्टेटमेन्ट’ मा नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय लगानीकर्तालाई आमन्त्रण गर्ने उल्लेख छ । भारत भ्रमणअघि नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठकले पनि नेपालको जलविद्युत्मा लगानी गर्न ‘संयुक्त विकास समिति’ गठन गर्ने उल्लेख छ ।
भारतले नेपाललाई ४१४ मेगावाट (सात वटा जलविद्युत् आयोजना) विद्युत् निर्यात गर्न अनुमति दिइसकेको छ । भारतमा यतिखेर ५ हजार ५ सय मेगावाट विद्युत् अभाव छ । ६० प्रतिशतभन्दा बढी तापीय ऊर्जाबाट विद्युत् उत्पादन गरिरहेको भारतलाई नवीकरणीय (जलविद्युत्) ऊर्जा मिश्रणका लागि दबाब पर्दै आएको छ ।
यी दुवै आयोजना हाल नेपालको सरकारी कम्पनी विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ । मुगु कर्णालीको अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ भने फुकोट कर्णालीको सम्भाव्यता अध्ययन पूरा भएको छ । एनएचपीसीले निर्माण गरी भारतमा बिजुली निकासी गर्ने उद्देश्यले आयोजनामा लगानी गर्न खोजेको हो ।
भारतको सरकारी लगानी रहेको उक्त कम्पनीले हालसम्म २४ वटा आयोजना ७०७१ मेगावाट विद्युत् उत्पादन गरिसकेको छ भने हाल ५९९९ मेगावाटका पाँचवटा आयोजना बनाइरहेको छ । या कम्पनी नेपालको अरुण तेस्रो बनाइरहेको सतलजभन्दा ठूलो हो । यसको गत वर्षको नाफामा मत्रै ३२ अर्ब ३३ करोड रुपैयाँ थियो ।
मन्त्रालयमा यी दुई आयोजना नेपालसँग मिलेर संयुक्त रुपमा निर्माण गर्नेबारे प्रस्ताव आएको ऊर्जा सचिव देवेन्द्र कार्कीले पुष्टि गरे । ‘प्रस्ताव आएको छ, हामी छलफल गर्दैछौ,’ कार्कीले इकागजसँग भने, ‘यसको कानुनी, आर्थिक र प्राविधिक पक्ष अध्ययन गर्नुपर्छ ।’
बाजुरामा पर्ने मुगु कर्णाली पूर्ण जलाशययुक्त आयोजना हो । आयोजनाले चर्चने क्षेत्र पहिचान मात्र भएको र यसको सम्भाव्यता अध्ययन भएको छैन । यो आयोजना विद्युत् उत्पादन कम्पनीले २०७५ असार २२ गते सर्वेक्षण अनुमति पत्र पाएको थियो । विकट ठाउँमा रहेको यो आयोजनाको विस्तृत अध्ययनका लागि कम्पनीले प्रस्ताव आव्हान गरिसकेको छ । प्रस्तावमा ६ वटा परामर्शदातृ कम्पनी लघुसूचीमा परेका छन् । यसको अध्ययन गर्न चार वर्ष लाग्ने अनुमान छ ।
त्यसैगरी एनएचपीसीले प्रस्ताव गरेको फुकोट कर्णाली कालीकोटमा पर्छ । यसको अध्ययन अनुसार ४७६ मेगावाट कर्णालीको पानी उपयोग गरेर र ६ मेगावाट वातावरणीय प्रयोजनका लागि छाड्ने पानीबाट उत्पादन भई ४८० मेगावाट जडित क्षमता तय भएको हो ।
सुख्खायाममा दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने फुकोट कर्णाली सुख्खायामको पिक (साँझ–बिहान) वार्षिक ४८१ गिगावाट घण्टा (४८ करोड १० लाख युनिट) बिजुली उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । त्यसैगरी पिक र अफ पिक गरी सुख्खायाममा यो आयोजनाले ७५० गिगावाट घण्टा (७५ करोड युनिट) उत्पादन गर्न सक्छ ।
वर्षायाममा १७०४ गेगावाट घण्टा अर्थात् एक अर्ब ४ करोड युनिट बिजुली उत्पादन गर्न सक्ने उत्पादन कम्पनीले गरेको अध्ययनमा छ । वर्षा र सुख्खायाम गरी फुकोट कर्णालीले २४५५ गिगावाट घण्टा अर्थात् २ अर्ब ४५ करोड युनिट बिजुली उत्पादन गर्न सक्छ ।
अन्य आयोजनाभन्दा फुकोट कर्णालीको निर्माण संरचना पृथक् छ । यसमा दुईवटा डाइभर्सन सुरुङ, दुईवटा मुख्य सुरुङ र दुईवटा टेलरेस (बिजुली उत्पादन गरी खोलामा छाडिने सुरुङ) हुने गरी डिजाइन गरिएको छ । मुख्य सुरुङ ८.४ व्यासका हुनेछन्, जसमा पहिलो सुरुङको लम्बाइ ६ हजार ४४ मिटर र दोस्रो सुरुङको लम्बाई ५ हजार ८ सय ७८ मिटरको छ । भूमिगत विद्युत्गृह रहने यो आयोजनामा ७९ मेगावाटका ६ वटा टर्बाइन (फान्सिस) रहने गरी डिजाइन गरिएको छ ।
विद्युत् उत्पादनका लागि ३४८ घनमिटर प्रतिसेकेण्ड पानी उपयोग (डिजाइन डिस्चार्ज) गर्ने भनिएको छ । कर्णाली र सानीगाडको दोभानदेखि ११ सय मिटर तल डाइभर्सन सुरुङ रहने यो आयोजनाको जलाशय (डुबान) क्षेत्र ११ किलोमिटर हुनेछ । उक्त दोभानदेखि डेढ किलोमिटर तल आयोजनाको मुहान संरचना क्षेत्र रहनेछ । यो आयोजना काठमाडौँबाट ७८० किलोमिटर र नेपालगञ्जबाट २६० किलोमिटर टाढा पर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया