ऊर्जा

बिम्सटेक ऊर्जा मन्त्री स्तरीय बैठक सुरु

´हामीलाई जलविद्युत् चाहिएकाे छ : भारतीय विद्युत् मन्त्री

इकागज |
बैशाख ७, २०७९ बुधबार १०:५९ बजे

काठमाडौँ - बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्री तथा सचिव स्तरीय बैठक सुरु भएको छ।  भर्चुअल माध्यमबाट बिहान ९:३० देखि बैठक सुरु भएको हो। बिमस्टेकका ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता ऊर्जा मन्त्री पम्फा भुसालले गरेकी छिन्।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै मन्त्री भुसालले 'बिमस्टेक क्षेत्रमा दिगो आर्थिक वृद्धि हासिल गर्न ऊर्जा, वातावरण र अर्थतन्त्र बीचको इनर्जी, इन्भारोमेन्ट एण्‍ड इकोनोमी (3E) सम्बन्ध उल्लेखनीय रूपमा महत्त्वपूर्ण छ।' उनले भनिन्, ‘बिमस्टेकको भविष्य पनि करिब १ अर्ब ७ करोड जनताको भविष्य हो ।’  भुसालले नेपालको जलविद्युतले नेपाललाई मात्र नभई सिंगो क्षेत्रलाई फाइदा पुग्ने बताइन् ।


बैठकमा बोल्दै भारतीय विद्युत मन्त्री आरके सिंहले भने 'हामीलाई जलविद्युत चाहिएको छ । हामी जलविद्युत किन्छौं , तर तेश्रो मुलुकको संलग्नताको होइन बिमस्टेकको ऊर्जा खरिद गर्ने हो, बिमस्टेकको ऊर्जा बेच्ने हो । नवीकरणीय ऊर्जाको अनियमित आपूर्तिलाई न्यूनिकरण गर्न पनी जलविद्युतले मद्दत पुर्‍याउने छ ।'

भारतमा यतिखेर ५५०० मेगावाट अपुग छ । भारतमै विद्युत अभाव भएकाले रातिकाे समय नेपाललाई बिजुली दिन सकेको छैन र नेपालकाे उद्योग क्षेत्रमा आपूर्ति कटाैती गरिएकाे छ ।

बैठकको अन्त्यमा हिजोको सचिवालय बैठकको प्रतिवेदन आज पारित गरी संयुक्त विज्ञप्ति जारी गरिने मन्त्रालय स्रोतले जनाएकाे छ। ​बिम्सटेकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य राष्ट्र छन् ।

 


Author

थप समाचार
x