भारतमा चरम ऊर्जा संकटको असर
उद्योगलाई बिजुली आपूर्तिमा सकस
थोरै समयका लागि हो : कुलमान
काठमाडौं – भारतमा ऊर्जाको चरम संकटका कारण नेपालमा आपूर्ति हुँदै आएको बिजुली पनि उल्लेखनीय रुपमा कटौती भएको छ । यसको मार नेपालका उद्योगहरुमा परेको छ ।
भारतको ऊर्जा बजार (आईआईएक्स) मा बिजुली अभाव भएपछि नेपालले पाँच सय मेगावाटको बिड (प्रतिस्पर्धा) गर्दा मुश्किलले सय मेगावाट मात्र पाउन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो प्रणालीमा तीन सय मेगावाट बिजुली अभाव भएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका उद्योगहरुमा दुई साताजति विद्युत् आपूर्ति अनियमित हुन सक्ने बताए ।
उनले आज बुधबार पत्रकार सम्मेलन गर्दै आपूर्ति अनियमितताको या समस्या धेरै लामो नहुने पनि बताए । ‘कुनै वेला स्वीकृति लोडअनुसार नै २४ सै घण्टा विद्युत उपलब्ध गराएका छौं । कुनै वेला १२ घण्टा, १८ घण्टा दिनु पर्ने हुन्छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने, ‘आयातको आपूर्ति चेन कसरी हुन्छ सोही आधारमा उद्योगलाई विद्युत आपूर्ति हुन्छ । यो समस्या १०÷१५ जति होला जस्तो छ । त्यसलै केही समस्या आयो भने बेलुका बिहान केही ठाउँमा विद्युत कटौती गर्नु पर्ने अवस्था हुन सक्छ ।’
केही सातअघि नेपालका हिमाल पर्वतमा रहेका हिउँ पग्लिएका कारण ऊर्जा उत्पादन ५० प्रतिशतले वृद्धि भएको, भारतको आईआईएक्समा पनि समस्या नरहेको र बिहारले पनि दिनको समयमा विद्युत् आपूर्ति गरेका कारण नेपालमा सहज अवस्था रहेकोमा अहिले स्थिति ठीक विपरीत हुन पुगेको छ ।
हिउँ पग्निले क्रम बन्द भएको छ, भारतीय ऊर्जा बजारमा विद्युत् उपलब्ध हुन छाडेको छ भने बिहारले पनि दिउँसोको समयमा विद्युत् आपूर्ति बन्द गरेको छ । चरम सुख्खायाम भएकाले १४४ मेगावाटको कालीगण्डकीले ८० मेगावाट मात्रै उत्पादन गरेको, ७० मेगावाटको मध्यमस्र्याङ्दीले ४५ मेगावाट मात्र उत्पादन गरेको उल्लेख गर्दै घिसिङले भने, ‘यही बेला भारतबाट पनि आपूर्ति कटौती हुन पुग्यो भने नेपालको आफ्नै उत्पादन १५० मेगावाटले घट्यो ।’
प्राधिकरणले भारतसित तीन प्रकारले विद्युत् आयात गर्दै आइरहेको थियो । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट आगामी जूनसम्म ३५० मेगावाटको खरिद गर्ने सम्झौता थियो । त्यसैगरी पीटीसीले टनकपुरबाट ६५ मेगावाट विद्युत् दिने सहमति थियो । गत मार्च महिनामै कोइला आपूर्ति अभाव भएको कारण देखाएर भारतले विद्युत् दिन सकेन । कोइलाको अभाव भएपछि भारतले सम्झौता नै पालन गर्न सकेन ।
बिहारले भने दिनको समयमा ३५० मेगावाट आपूर्ति गर्दै आएको थियो । भारतको नीतिअनुसार आयातीत कोइलाबाट उत्पादन भएको बिजुली निर्यात गर्न पाइँदैन । कोइला संकटका कारण केही दिनयता बिहारबाट पनि आपूर्ति कम भएको प्राधिकरणले जनाएको छ । ‘तीन दिनदेखि बिहार पनि दिउँसो दिन सकेन, राति आउँदै आउन्नथ्यो,’ घिसिङले भने ।
तर यो अवस्था धेरै लामो नहुने घिसिङको भनाइ थियो । ‘बिहारले पनि एक÷दुई दिनमा मिलाउँछौं भनेको छ, मिलेको वेलामा एक घण्टा अगाडि जानकारी दिएर बिहारले विद्युत दिइनै रहेको छ,’ उनले भने । भारतमा यतिखेर विद्युत् माग २० हजार मेगावाट बढेर २ लाख मेगावाट पुगेको छ । भारतको १४ प्रान्तमा लोडसेडिङ गरिएको छ भने भारतीय उद्योगहरुलाई उनीहरुले गरेको मागको ५० प्रतिशत मात्र आपूर्ति गरिएको छ ।
भारतमा ऊर्जा संकट आउनुमा माग वृद्धि, कोइला आपूर्ति अभाव र कोइलाको अन्तर्राष्ट्रिय मूल्यमा चार गुणा वृद्धि हुनु रहेको घिसिङको भनाइ थियो । प्राधिकणले भारतीय ऊर्जा बजारबाट तीन सय मेगावाट सहज आपूर्ति हुने विश्वास गरेको थियो । नेपालमा पनि विद्युत्को माग तीन सयदेखि चार सय मेगावाट वृद्धि हुन पुगेको घिसिङले बताए । यता ऊर्जा माग भने २५ देखि ३० प्रतिशत पुगेको छ ।
‘केही दिनअघिसम्म हाम्रो माग २७ हजार मेगावाट घण्टा (२ करोड ७० लाख युनिट) थयो, अहिले ३ करोड ३० लाख युनिट पुग्यो,’ घिसिङले भने, ‘माग झन बढ्न थाल्यो ।’ आठ महिनअघि उद्योगहरुलाई डेडिकेटेड फिडर प्रयोग गरेबापतको पैसा नदिएसम्म थप लोड नदिने भनेर निर्णय गरेको प्राधिकरणले प्रणालीमा विद्युत् उपलब्धता पर्याप्त भएकै कारण ६०० मेगावाटको लोड स्वीकृत गरिएको घिसिङले बताए ।
महंगोमा ल्यायो भन्ने हल्ला मात्र
आयातको मूल्य महँगो भयो भनेर हल्ला गरिएको घिसिङले बताए । ‘तर बाहिर चर्चा गरिएको जस्तो ३८ रुपैयाँ प्रतियुनिट चाहिं हैन,’ उनले भने, ‘ भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा किनेको भनेर बाहिर धेरै आयो । यो कुनै पनि हालतमा हैन ।’ भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने अधिकतम २० भारतीय रुपैयाँ (३२ रुपैयाँ) लाई ३८ रुपैयाँमा आयात गरियो भन्दै हल्ला गरिएको उनको भनाइ थियो ।
‘एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं त्यसमा १८ भारु (२८.८ नेरु) परेको रहेछ त्यो पनि १५ मिनेको ब्लकमा’ उनले भने, ‘यसभन्दा हामीले माथि कोट गरेकै छैन । अहिले १२ भारु प्रतियनिटको सीमा लगाइदिएकोले त्यसभन्दा बढी कोट गर्ने कुरै भएन । अहिले हामी उत्कृष्ट मूल्य हुने गरी मूल्य कोट गछौं ।’
‘अप्टिमाइज इम्पोर्ट’ कसरी हुन्छ त्यतातर्फ ध्यान दिएर प्राधिकरणले विद्युत आयात गरिरहेका जनाएको छ । प्राधिकरणले गत मंसिरसम्म विद्युत आयात गर्नु परेको थिएन । त्यतिबेला बरु थोरै भए पनि निर्यात नै गरिरहेका थियो । आयात भने पुसबाट सुरु भएको हो । पुसतिर जाडोको कारण नेपालको माग बढी थियो भने भारतको कम ।
पुसमा विद्युत आयात गर्दा प्रतियुनिट औसत मूल्य तीन भारु (४.८ रुपैयाँ) भन्दा कम थियो । पिकमा अहिले बढी आउँथ्यो । माथिल्लो तामाकोसीले धान्ने भएकोले साँझ र बिहान पिकमा आयात नै गर्नु नपरेको घिसिङले बताए ।
प्राधिकरणले बिहारबाट प्रतियुनिट ६.१८ भारु (९.८८ रुपैयाँ) मा आयात गरेको थियो । ‘त्यसैले भारतीय प्रतिस्पर्धी बजारमा योभन्दा बढी कोट नै गर्दैन थियौं,’ उनले भने, ‘ ६.१८ भारुलाई आधार मूल्य तय गरी प्रतिश्पर्धी बजारमा प्रतिश्पर्धा गथ्र्यौं । एक दिन त औसत मूल्य प्रतियुनिट १.८३ भारु (२.९२) आएको थियो ।’ पुस, माघ, फागुनसम्ममा आयाति विद्युतको प्रतियुनिट औसत मूल्य ३ भारु (४.८ रुपैयाँ)भन्दा कम छ । यसमा प्रसारण लाइन शुल्क ५३ पैसा थप्दा औसत ३.५३ भारु छ । रातिको मूल्य सस्तो भएकोले सोही समयमा बण्स् आयात गरेकोले औसत मूल्य कम भएको हो । ‘माथिल्लो तामाकोसीलाई पिकिङ गरी पिक समयको महँगो विद्युत कहिले पनि किन्दैन थियौं,’ घिसिङले भने, ‘राति ९९ पैसा भारुमा किनेर आयात गरेका छौं, २ सय देखि ३ सय मेगावाटसम्म । फागुनसम्म ३.५३ भारुको हाराहारीमा थियो । चैतमा आएपछि भारतमा विद्युतको मूल्य दैनिक रुपमा एक्कासी बढ्यो । तर, पनि त्यतिवेलासम्म आन्तरिक रुपमा व्यवस्थापन गरी हामीले पिकमा किनेनौं ।’
चैतमा भारतीय बजारमा मूल्य बढेका कारण यस अवधिसम्मको औसत मूल्य केही बढेको थियो । प्राधिकरणले गत फागुनसम्म बिहारबाट आयात गरेको थिएन । ‘प्रतिस्पर्धी बजारमा सस्तोमा पाउँदा पाउँदै बिहारबाट ६.१८ भारुमा किन ल्याउने ?’ उनले भने, ‘प्रतिश्पर्धी बजारमा सस्तो थियो । यसरी हामीले ‘अप्टिमाइज इम्पोर्ट’ गरेका हौं । चैतसम्ममा आयातित विद्युतको प्रतियुनिट औसत मूल्य ४.५० भारुको हाराहारीमा छ ।’
बैशाखको १५ गतेसम्ममा औसत मूल्य केही बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले औसत मूल्य नै प्रतियुनिट १२ भारु थियो । तर, धेरै परिमाणमा आयात नभएको उसको भनाइ छ ।
गत पुसदेखि हालसम्मको औसत मूल्य प्रतियुनिट करिब ५.२० भारु रहेको प्राधिकरणले जनाएको छ । यसमा प्रसारण शुल्क सबै जोडिएको छ । ‘कुनै बेला सस्तो किनेको छ कुनै बेला महंगो भयो त्यसको औसत मूल्य हेर्नुपर्ने हुन्छ,’ घिसिङले भने, ‘आन्तरिक उत्पादनले नधान्ने भएकोले करिब एक महिना पाएसम्म भारतबाट आयात गर्नु पर्ने हुन्छ । बाँकी अवधिकोसहित आयातीत विद्युतको प्रतियुनिट मूल्य औसतमा ६ भारुको हाराहारीमा हुन्छ । महंगोमा बिजुली किनेकै छैनौं, द्धिपक्षीय सम्झौता गरेर महंगोमा किनेको भए आरोप सही हुनसक्थ्यो ।’
सस्तोमा बेच्यो भन्ने आरोप गलत
सस्तोमा बेच्यो भन्ने आरोप पनि गलत रहेको घिसिङले बताए । गत सेक्टेम्बर र अक्टोरबरमा बिहारलाई बिक्री गरिएको विद्युत मूल्य प्रतियुनिट मूल्य ६.१८ भारु हो । ‘जति मूल्यमा आयात भयो त्यतिमै निर्यात गरिएको हो । इनर्जी एक्सचेन्ज मार्केटमा नोभेम्बरबाट डिसेम्बरको मध्यसम्म बिक्री गर्न पाएको हो,’ घिसिङले भने, ‘३९ मेगावाट डेढ महिना बिक्री गरेको हो । त्यसपछि त आन्तरिक उत्पादनले नधान्न थालेपछि आयात सुरु गरिएको हो । त्यतिवेला खपत गरेर बचत भएको करिब ५÷६ सय मेगावाट अतिरिक्त ऊर्जा थियो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया