ऊर्जा

भारतमा बढ्दो ऊर्जा संकट, असर नेपाललाई

इकागज |
बैशाख १८, २०७९ आइतबार २०:४ बजे

काठमाडौं – भारतमा त्यसै पनि कोइला अभावले बिजुली संकट गहिरो बन्दै गइरहेका बेला त्यहाँका ४२ वटा रेलले ७ सय ५३ खेप कोइला ओसार्ने कार्य रद्द गरेका छन्। आगामी  जेठ ११ सम्म ७ सय १३ खेप साउथ इस्ट सेन्ट्रल रेलवेले र आगामी वैशाख २५ सम्म नर्थन रेलवेले ४० खेप रद्द गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसबाट भारतमा थप ऊर्जा संकट निम्तिने र त्यसको असर नेपाललाई समेत पर्ने भएको छ । अझै केही वर्षका सुख्खायामभरि नेपालले भारतबाट बिजुली आयात गरेरै गर्जाे टार्नुपर्नेछ । अहिले भारतले भनेजति बिजुली नदिएकै कारण उद्योगहरुमा १४ घण्टासम्म आपूर्ति कटौती छ ।


भारतीय रेलवेहरुले छत्तीसगढ, उडिसा, मध्य प्रदेश र झारखण्ड जस्ता कोइला उत्पादक राज्यबाट कोइला ओसार्न स्थगित गरेका हुन् । भारतका एक सय ७३ थर्मल पावर प्लान्टमध्ये कम्तीमा १०८ वटा प्लान्टहरुमा कोइलाको मौज्दात अत्यन्त कम रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

ती भारतीय सञ्चार माध्यमहरुका अनुसार गत २२ अप्रिल (९ वैशाख) मा भारतका प्रमुख राज्यहरुमा तापक्रम ४२ डिग्रीभन्दा बढी थियो । यसले सावकको बिजुली माग २ लाख ६ हजार मेगावाटबाट ह्वात्तै बढाइदिएर ८ हजार २ सय ३० मेगावाट अपुग भएको थियो ।  यही मे र आगामी जूनमा भारतभरि बिजुली कूल माग २ लाख १५ हजारदेखि २ लाख २० हजार मेगावाट पुग्ने अनुमान गरिएको छ । कोभिड–१९ पछि अर्थतन्त्रमा भएको पुनरुत्थान र भारतका अधिकांश भूभागमा फैलिएको चर्काे गर्मीका कारण माग वृद्धि भएको हो  ।

कोइला अभावले भारतको झारखण्ड, राजस्थान, उत्तर प्रदेश, पञ्जाब, महाराष्ट्र, मध्य प्रदेश, बिहार, हरियाणा, आन्ध्र प्रदेश, केन्द्र शासित जम्मु–कश्मी र लद्दाखमा बिजुली कटौती गरिएको छ । भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार गत बिहीबार (अप्रिल २८) मा भारभर १९ करोड २१ लाख युनिट बिजुली पिक (अत्यधिक खपत हुने) समयमा अपुग भएको थियो । पिक माग भने २ लाख ४ हजार ६ सय मेगावाट पुगेको थियो । भारतीय पावर प्लान्टमा अन्य समयमा औसतमा २४ दिनका लागि कोइला पुग्ने मौज्दात हुन्थ्यो भने यतिखेर आठ दिनभन्दा कम रहेको छ । यता भारतको कोइला मन्त्रालयले भने विद्युत् उत्पादनका लागि पर्याप्त कोइलाको मौज्दात रहेको बताउन छाडेको छैन ।

भारतमा ७५ प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुने गर्छ । कोइलाको ढुवानी गर्ने त्यहाँको मुख्य साधन रेलवे हुन् । राज्य सरकारले कोइला कम्पनीलाई समयमा नै भुक्तानी नगरेका कारण रेलवे कम्पनीहरुले खेप भर्ने कार्य रद्द गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छ । 

यही बेला आयातीत कोइला उपयोग गरेर बिजुली उत्पादन गर्दै आएका थर्मल पावर प्लान्टहरुले पनि आफ्ना विद्यृत्गृह बन्द गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ अकाशिएर विद्युत् लिने राज्यहरुले महँगोमा खरिद गर्न नसकेपछि उनीहरुले उत्पादन बन्द गरेका हुन् । आयातीत कोइलाले बिजुली उत्पादन गर्न नसकेपछि घरेलु कोइला प्रयोग गर्ने थर्मल प्लान्टहमा थप दबाब बढाएको छ, यसबाट कोइलाको आपूर्ति शृंखलालाई पनि तनावपूर्ण बनाइदिएको दि इण्डियन एक्सप्रेसले लेखेको छ । 

देशको घरेलु कोइलाको प्रमुख आपूर्तिकर्ता कोल इण्डियालाई झारखण्डसहित केही राज्यहरुले भुक्तानी ढिलाई गरेका कारण आपूर्तिमा समस्या भएको अधिकारीहरुले बताएका छन् ।  सरकारी अधिकारीहरुका अनुसार हाल कोल इण्डिया लिमिटेड, सिंगरेनी कोलरीज कम्पनी र क्याप्टिभ कोल ब्लक (आफ्नै प्लान्ट) हरुमा ६ करो ३३ लाख टन कोइला मौज्दात छ । वर्षायाममा कोइला उत्पादन र ढुवानी दुवैमा वर्षाले असर पार्ने भएकाले थर्मल प्लान्टहरुले मनसुनअघि नै कोइलाको पर्याप्त भण्डारण गर्ने गर्छन् । 

विद्युत् गृहहरुमा हालको कोइला अभावले वर्षको अन्त्य (मंसिर–पुस) तिर खराब ऊर्जा संकट पर्ने विज्ञहरुले चेतावनी दिएका छन् । हरेक नोभेम्बरमा भारतमा कोइला उत्पादन र ढुवानीमा समस्या पर्ने गर्छ । 


Author

थप समाचार
x