बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरू बन्द गर्छौंः हान
काठमाडौँ- होटल संघ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।
होटलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावाँ ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए । सोमबार उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरूलाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको जिकिर गरे । उनले सरकारले कोभिडको मारका कारण अतिप्रभावित उद्योगका रूपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।
विगतको भन्दा होटलहरू सामान्य सुधार भएपनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उपाध्यक्ष साहकाे भनाइ छ । उनले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँब्याज तिर्न दबाब दिइरहेको उल्लेख गरे ।
उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरूले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिए । उनले होटलहरूलाई तिर्नुपर्ने सावाँब्याज तिर्दै नतिर्ने व्यवसायीहरूले नभनेको भन्दै बैंकहरूलाई सावाँब्याज तिर्ने तर समय दिनुपर्ने बताए ।
उनले अहिलेको परिस्थितिमा होटलहरूले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भएपनि कुनै पनि हालतमा बैंकलाई सावाँब्याज बुझाउन असक्षम रहेको जिकिर गरे । उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए ।
साहले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रूपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको बताए । अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रूपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने साहकाे भनाइ छ । उनले अहिले बढ्दो ब्याजदरले होटल उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया