Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

उद्यम

उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर : फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ

इकागज |
जेठ ६, २०८१ आइतबार १९:१५ बजे

काठमाडौँ- फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङजन्य उद्योग व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताए । दर्ता भएर सञ्चालन भएका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भुतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको भन्दै त्यसका सम्बन्धमा फर्निचर व्यवसायीसँग उद्योग वाणिज्य महासंघले सहकार्य गरी आवश्यक लबिङ गर्ने बताए ।


देशको ४५ प्रतिशत क्षेत्रमा वन जङ्गल रहे पनि त्यहाँबाट उत्पादित काठको व्यावसायिक हुन नसकेको उनको भनाइ थियो । 'यही ४५ प्रतिशत बनबाट हामीले चाहेजति उत्पादन तयार गर्दै वृक्षारोपणबाट बनको क्षेत्र घट्न नदिनेगरी व्यावसायिकताको भरपुर सदुपयोग गराउन पहलकदमी लिनुपर्ने बेला भएको छ,' महासंघ उपाध्यक्ष ढकालले भने, 'त्यसो नगरेको खण्डमा अहिलेको हाम्रो सम्भावना गुम्छ ।'

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको भन्दै आशावादी हुन व्यवसायीलाई आग्रह गरे। उनले उधारो कारोबार व्यवस्थापन अपरिहार्य रहेको बताएका ढकालले प्रष्ट कानुनी व्यवस्था बनाउन महासंघले पहल गरिरहेको दाबी गरे । 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर तथा फर्निसिङ व्यवसाय नेपालकै लागि आशाको क्षेत्र भए पनि राज्यस्तरबाट यसको संरक्षण र सम्वर्द्धनमा पहल नभएको गुनासो गरे । उधारो कारोबारले उत्पन्न समस्या भयावह भन्दै गएको भन्दै उनले यो विषयलाई व्यवसायिक सुरक्षा ऐनमा समेट्नु पर्ने बताए । बिल बीजक अनुसार एकै पटकमा ढुवानी गर्नुपर्ने व्यवस्थाले ढुवानीमा समस्या भएको भन्दै उनले ढुवानी प्रकृयालाई व्यवसायमैत्री बनाउन आग्रह गरे । सबै किसिमका उद्योग व्यवसायलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गर्दै उनले विभेदकारी नीति हटाउन आग्रह गरे ।

महासंघका सल्लाहकार कृष्णलाल प्रधानले सरकारबाट पाउनुपर्ने सुविधाबाट फर्निचर व्यवसायीहरू वञ्चित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । नियमनको दायरामा आउन नसकेका व्यवसायीका कारण आफूहरू व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले क्षेत्रगत रूपमा कडा नियमन जरुरी रहेको बताए । 

महासंघका बागमती प्रदेश समन्वय समितिका अध्यक्ष शुभेन्द्र जोशीले चौतर्फी उपेक्षामा पर्दा फर्निचर व्यवसायीहरूको अवस्था दयनीय भएको गुनासो गरे । संगठित भएर अघि बढ्दा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै उनले सबैलाई एकजुट भएर बजारलाई स्वस्थ बनाउने अभियानमा लाग्न आग्रह गरे ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीकी अध्यक्ष पुर्ण सोभा गुरुङले कर तिर्ने व्यवसायीलाई राज्यले दुख दिने गर्दा दर्ता नभएका र कर नतिर्नेहरूले खुलेआम अनधिकृत रूपमा व्यवसाय गरिरहेको बताइन् । जसका कारण वास्तविक व्यवसायी समस्यामा परेको भन्दै घुमन्ते व्यवसायीलाई नियमनको दायरामा ल्याउन आग्रह गरिन्। यसबाट राज्यको कर बढ्नका साथै अहिलेका वास्तविक उद्योगी व्यवसायीलाई सहज उनको विश्वास थियो । 

महासंघमा आबद्ध विभिन्न जिल्लाका ३९ वटा फर्निचर व्यवसायी संघहरू प्रशिक्षण कार्यक्रममा सहभागी थिए । अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल तथा नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक विदुरचन्द्र लामिछानेले कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा माध्यमिक तहदेखि नै फर्निचर व्यवसाय तथा उद्योगलाई समेटेर व्यवहारिक शिक्षा समावेश गराउँदै मान्यता पनि दिनुपर्नेमा जोड दिइएको थियो ।


Author

थप समाचार
x