लेमिनार टायलः स्वदेशीलाई प्रोत्साहन, विदेशीलाई निरुत्साहन
काठमाडौँ- नेपालमा सहरीकरणको वृद्धिसँगै आधुनिक निर्माणमा टायलको प्रयोग तीव्ररुपमा बढिरहेको छ । घर, अस्पताल, विमानस्थल सबैजसो स्थानमा टायलको प्रयोग बढ्दै गएको छ।
निर्माण क्षेत्रमा टायलको बढ्दो प्रयोग र यसको आपूर्ति अन्तर्राष्ट्रिय बजारबाट भइरहँदा, तीन महिना अगाडि नेपालमा लुम्बिनी सेरामिक्स लिमिटेड नामक नयाँ उद्योग स्थापना भएको छ ।
लुम्बिनी सेरामिक्स बर्दिया गुलेरिया-८ मा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ शत-प्रतिशत भेट्रिफाइड टायलको उत्पादन गरिन्छ । नेपालमा कोभिड अघि करिब ९९ प्रतिशत टायल भारतबाट आयात हुँदै आएको थियो ।
सन् २०१९ मा भारतबाट १० अर्ब ५० करोड रुपैयाँको टायल आयात भएको थियो । यिनै सम्भावनालाई देखेर लुम्बिनी सेरामिक्सको स्थापना गरिएको निर्देशक अभिनव चुरिवालले बताए ।
उनका अनुसार लुम्बिनी सेरामिक्सको टिमले ३ अर्बभन्दा बढी लगानी गरेको छ। लुम्बिनी सेरामिक्सको टायलले अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्छ।
“नेपालमा भेट्रिफाइड टायलको गुणस्तरको मापदण्ड छैन, तर हामी अन्तर्राष्ट्रिय मानकअनुसार टायल उत्पादन गर्दैछौं । हाम्रो टायल ९९.९२% पानी प्रतिरोधी छ, जुन उच्च गुणस्तरको हो,” उनले भने ।
यसले उत्पादन सुरु गरेको तीन महिना भइसकेको छ । त्यसपछि यसको माग पनि बढ्दै गएको छ । अहिले दैनिक १ लाख ४० हजार वर्गफिट टायल उत्पादन गर्न सक्ने क्षमता रहेको चुरिवालको दाबी छ ।
"यदि माग बढ्यो भने उत्पादन १०-१५ प्रतिशत थप गर्न सक्षम छौं," उनले भने,, "नेपालमा धेरै युवा रोजगारी नपाएर विदेश जान बाध्य छन्। यस अवस्थामा हामीले ठूलो जोखिम लिएका छौं।"
टायलको गुणस्तरयुक्त रहेको छ । उनका अनुसार, “हाम्रो टायलको सतह ९९.९२% पानी प्रतिरोधी छ, जसले गर्दा यसको बिग्रने सम्भावना कम हुन्छ । अन्य टायलमा यस्तो गुणस्तरको कमी छ।”
लुम्बिनी सेरामिक्सको उत्पादनमा सबै मेसिन अटोमेटिक छन् र कच्चा पदार्थ भारतको राजस्थानबाट आयात गरी प्रोसेसिंग गरेर टायलको निर्माण गरिन्छ। यसमा करीब ३०० जना श्रमिक कार्यरत छन्।
कच्चा पदार्थको आपूर्तिको बारेमा बोर्ड अफ डाइरेक्टर सुब्रत धितालले भने, "हामी डडेलधुरामा खानीको तयारी गर्दै छौं, जहाँबाट कच्चा पदार्थ उत्पादन हुनेछ। अहिले कच्चा पदार्थको अभाव भएकाले हामी भारतबाट मगाइरहेका छौं।"
कोभिडअघि ११ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेको भए पनि पछिल्लो समय नेपालमा आधा दर्जन भन्दा बढी टायल उद्योग स्थापना भइसकेका छन्।सेरामिक्सको टायलले प्रतिस्पर्धात्मक मूल्यमा उच्च गुणस्तर प्रदान गरेको छ। “हाम्रो टायलको मूल्य ८० रुपैयाँदेखि २०० रुपैयाँ प्रति वर्गफिटसम्म पर्छ, जुन अन्य कम्पनीहरूका तुलनामा सस्तो छैन,” चुरिवाल भन्छन् ।
हाल लुम्बिनी सेरामिक्सका उत्पादनहरू नेपाली बजारमा सीमित छन्, तर कम्पनीको लक्ष्य भने अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नु हो । आर्थिक वर्ष २०८०-८१ को तथ्यांक अनुसार, नेपालमा ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेरामिक्सजन्य पदार्थको आयात भएको
छ ।
लुम्बिनी सेरामिक्सको उत्पादन राम्रो रहेको र भविष्यमा यो उद्योग पूर्ण क्षमतामा सञ्चालन गरेर निर्यातमा पनि ध्यान केन्द्रित गर्ने योजना रहेको अभिनवले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया