कमाइ खाने बाटो ‘हर्स राइड’
बागलुङ – बागलुङ बुर्तिबाङबाट आएका जिप बोबाङ हुँदै उकालो लागेपछि ढोरपाटनका विक्रम र दीपकको मन चंङ्गा हुन्छ । धेरैजसो बोबाङमै बस्ने उनीहरु जिप र मोटरसाइकलमा नयाँ मान्छे उकालो लाग्ने बित्तिकै घोडा लिएर घुमन्तेसँगै उक्लन्छन् । नातामा सहोदर नभए पनि आफन्त नाता छ, यी २ विक दाजुभाइको वर्षौदेखिको प्रगाढ सम्बन्धबीच विक्रम १९ वर्ष लाग्दा दीपक १८ पुगे ।
जिप पछ्याउँदै उकालो लागेका उनीहरु राति पाहुनासँगै गफिन्छन् । बोलीका धनी यी किशोर दाजुभाइ गीत गाउनसमेत उत्तिकै सिपालु छन् । रातमा रमाइलो गर्दै गरेका हुलमा मिसिन्छन् र गाउन सुरु गर्छन् । गीतैगीतमार्फत भोलिपल्ट बिहान घोडा चढ्ने बनाउँछन् । तिनै फिरन्तेहरु बिहान उठ्नेबित्तिकै घाम रापसँगै घोडामा सवार हुन्छन् । रातिसँगै गाउने नाँच्ने गरेपछि ढोरपाटन उपत्यकामा देखिने घोडामध्ये धेरै जना विक्रम र दीपकको घोडा रोजाइमा पर्छन् । उनीहरुको घोडामा चढेको छुट्टै दररेट छ । चढेर फोटोमात्र खिचेको १ सय, केही पर गएको २ सय । यस्तै, ढोरपाटन क्षेत्र घुम्छु भनेमा २ हजारदेखि ५ हजारसम्म लिने गर्छन् । ढोरपाटन शिकार आरक्ष उपत्यकामा उनीहरुजस्तै ८÷९ जनाको दैनिकी आरक्ष पुग्ने पर्यटकलाई घोडा चढाएरै बित्छ ।
सानैदेखि घोडासँग नजिकिएका यी दाजुभाइ ११ वर्ष पुग्दा नपुग्दै व्यावसायिक बनिसकेका थिए । ढोरपाटन नगरपालिका ८, बोबाङ घर बताउने उनीहरुको घर ढोरपाटन उपत्यकामै पनि छ । हिउँद याममा हिउँ परेर चिसो बढेपछि बोबाङ झर्ने उपत्यकावासीको यातायातको साधन नै घोडा, खच्चड हो । उनीहरुको घरमा पनि घोडा थियो । घोडा हेरचाह र चराउने काम दुवै गर्थे । घोडा अघिपछि गर्दागर्दै नाल, रिगाप, घन्टी, खंकर, लगाम सबैको नाम कण्ठस्थमात्र पारेनन् गतिलो राइडर नै बने । सिजनमा पर्यटक घुमाउने काम गर्छन् भने अरु बेला आफैं कुदाउँछन् । सानैदेखि आगन्तुकसँग खेल्दाखेल्दै उतैतिर मन गएपछि ७ कक्षा पढेर छाड्ने गल्ती गरे । दुवैले किशोरावस्थामै बिहे गरे र सन्तानका बाबु पनि बनिसके । बिहेपछि व्यवहारले चिन्थ्यो । घोडसवारबाहेक अर्को विकल्प भएन । अचेल उनीहरु यही पेसाको आम्दानीले परिवार धानिरहेका छन् । सिजनमा शुक्रबार र शनिबार दैनिक २५ सयसम्म कमाउँछन् । त्यसमा ५ सयका घोडाको दानापानीमा छुट्याउँछन् । अरु घरखर्च चलाउँछन् । शुक्रबार र शनिबारबाहेक अन्य दिन उतिसाह्रो कमाइ हुन्न । यसबाहेक उनीहरु त्यस क्षेत्रमा नाम कहलिएका ‘हर्स राइडर’ हुन् । गएको ५ वर्षदेखि पालैपालो प्रथम, द्वितीय हुँदै आएका छन् । उनीहरुले घोडालाई औधी माया गर्छन् । घोडाको नाम विक्रमले ‘लाले’ र दीपकले ‘टीका’ राखिदिएका छन् । ‘आरक्षले बेलाबेलामा हर्स राइडिङ प्रतियोगिता राख्छ,’ विक्रमले भने, ‘१ वर्ष लाले फस्ट हुन्छ अर्को वर्ष टीका । हामीले अरुलाई जित्नै दिन्नम् ।’
गत वर्ष कोरोनाले बिल्लीबाँठ नै बनायो । पर्यटक नआउँदा काम पाएनन् । यसै वर्षको बैशाखदेखि केही आशा पलायो । नयाँ वर्षमा दिनमै १५ हजारसम्म कमाइ भएकोले अहिले केही आश पलाएको उनीहरु बताउँछन् । अब विस्तारै हिउँ पर्ने सिजन सुरु भयो । त्यसैले पर्यटक ढोरपाटन आउन्नन् । बर्खामास पनि बाढीपहिरोले बाटो बन्द भएर पर्यटकले आरक्ष क्षेत्र टेक्दैनन् । ‘कहिले दिनमै १५ हजार कमाइन्छ । कहिले यत्तिकै बस्ने हो,’ दीपकले भने, ‘असार–साउनमा त बाटो बिग्रेर कोही आउँदैनन् । बाटो सहज भएर पर्यटक आइरहे आफूहरुको रोजीरोटी चल्ने हो । नभए विदेश जाने कि भनी सोच्दैछौं ।’
यसैबीच, ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धन काम गरिरहेको बताए । पर्यटक बाह्रैमास आए यस क्षेत्रका बासिन्दाको जनजीवन सहज बन्ने उनको धारणा छ । ढोरपाटनको प्रचार र विकासका लागि आफू सधैं सकारात्मक रहेको उनले बताए । ‘हामीले ढोरपाटनमा पूर्वाधार बनाउने भनेका छौं, आरक्षको छुट्टै कानुन हुने रहेछ त्यसैले साह्रै गाह्रो बनाएको छ,’ उनले भने, ‘आरक्षको नियमले गर्दा हाइअल्टिच्युट ग्राउन्ड र ८ सय २८ मेगावाटको जलविद्युतको काम हुन सकेको छैन ।’ मध्यवर्ती सीमा विवाद टुंगो नलाग्दा पूर्वाधारको काम हुन नपाएको ढोरपाटन शिकार आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए । ‘मध्यवर्ती सीमा टुंगोमा नपुग्दा आरक्षको सेयर स्थानीयले उपभोग गर्न पाएका छैनन्,’ उनले भने, ‘स्थानीयलाई दीर्घकालीन फाइदा र तत्कालीन लाभबारे बुझाउन सकियो भने विवाद नहोला ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया