उद्यम

दैलेखमा आरन पेसा संकटमा

इकागज |
फागुन २५, २०७८ बुधबार १५:१२ बजे

सुर्खेत –​ पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । पुरानैशैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा आरन पेसा लोप हुने अवस्थामा पुगेको हो ।  प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा संकटमा परेकाे  दैलेख ठाटीकाँधका स्थानीय बताउँछन् । 

विगतमा दैलेखका विभिन्न ठाउँहरूमा भेटिने आरन हिजोआज भने लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका कतिपय गाउँहरु आरन टोलका नामले समेत चिनिन्छन्। दैलेखको ठाटीकाँध गाउँपालिका लगायत केही स्थानमा मात्र सीमित मात्रामा आरन व्यवसाय चल्दै आएको छ । परम्परागत पेसाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेसा संकटमा परेकाे स्थानीय बताउँँछन् । 


खासगरी समाजमा बसोबास गर्दै आएका विश्वकर्मा समुदायको मुख्य पेसाको रूपमा चिनिएको आरन पेसा अहिले हराउँदै जान थालेको ठाटीकाँध- २ का पहराम कामी बताउँछन् । ‘नौमती पञ्चेबाजासहित मठमन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु पनि आरनमा बनाउने गरिन्छ, ’ उनले भने । 

आरन पेसा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ । "व्यावसायिक रुपमा आरन पेसा सञ्चालन गर्नेहरूले पहिले सामुदायिक वनजङ्गलमा रुख ढालेर गोल ल्याइन्थ्यो । तर, अहिले रुख काट्न नदिएपछि गोलको लागि निकै समस्या छ  । गोलको साटो पथ्थर कोइला आएको भए सहज हुन्थ्याे,' ठाटीकाँध- २ का रघे लाेहार भन्छन् । 

पछिल्लो समय विद्युतको सहायताबाट फलामको सामानमा वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने प्रविधिको समेत विकास भएकाले आरन पेसा संकटमा परेकाे उनी बताउँछन् । 


Author

थप समाचार
x