निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु
फाइल फोटो
चितवन - चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो ।
कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो । `एक हप्ताअघि हामीले उद्धार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थियो`, उनले भने, `उद्धार गर्ने क्रममा बच्चा कामिरहेको थियो, केटोलाई निमोनिया भएको हामीले अनुमान गरेका थियौँ ।` मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिए ।
बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ । `हामीले यहाँ ल्याउँदा नै उ कामिरहेको थियो`, उनले भने, `तर हामीले बचाउन सक्छौँ कि भनेर सक्दो कोसिस गरिरहेका थियौँ ।` माउसँग छुटेका गैँडाका साना बच्चा बचाउन एकदमै मुस्किल हुने गरेको कोषका प्रमुख डा बाबुराम लामिछानेले बताए । अमलटारीस्थित चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरले एक हप्ताअघि गैँडाको बेवारिसे बच्चा जङ्गलबाट उद्धार गरेर कोषको जिम्मा लगाएको उनको भनाइ थियो ।
असारको २२ गते गैँडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले उसकी आमा आएर लिएर जाने आशमा दुई दिनसम्म निगरानीमा राखेका थिए । केटो छोडेर गएको माउ दुई दिनसम्म पनि नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा २४ लगेर उपचार तथा रेखदेख सुरु गरिएको थियो । यसअघि निकुञ्जको विभिन्न स्थानबाट उद्धार गरेर लगिएको पुष्पा र अञ्जली नामका गैँडा कोषको परिसरमा हुर्किरहेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया