वातावरण

जलवायु परिवर्तन र मानवीय गतिविधिले जलचर प्राणी संकटमा

इकागज |
मंसिर २५, २०७९ आइतबार १४:३२ बजे

रूपन्देही- मायादेवीका स्थानीय रामप्रकाश मल्लाह एक दशक बढीदेखि माछा मार्दै जीविकोपार्जन गर्दै आएका थिए । जलाशयमा माछा पाउन छोडेपछि आजकल उनी ज्याला मजदुरी गरेर परिवार पाल्छन् । आफ्नो पुर्ख्यौली पेसा छोडेर अन्य पेसा अंगाल्नु पर्दा खिन्न लागेको, तर जलाशयमा माछा पाउनै छाडेकाले कुनै विकल्प नभएको उनी बताउँछन् । 

सोही स्थानका सुग्रीम मल्लाहको अवस्था फरक छैन । तिनाउ, दानव लगायतका नदीमा जाल हान्दै माछा मार्दै आएका उनलाई आजकल त्यहाँ दुईचार माछा भेटाउन पनि धौ पर्न थालेको छ । 'यहाँको खोलामा आजकल माछा भेट्नै मुस्किल छ, हाम्रो पेसा त अब जीवित रहनै सक्दैन,' सुग्रीमले दु:ख व्यक्त गरे । पर-परसम्मका खोलाहरूमा पनि माछा त्यति पाइँदैन ।'


रूपन्देहीको दानव, तिनाउ, डण्डा, कंचन रोहिणीजस्ता खोलामा अहिले माछा पाउन दिनप्रतिदिन मुस्किल हुँदै गएको प्राय:सबै माझी परिवारको गुनासाे छ । यो पेशा लोपाेन्मुख हुँदै छ । मानवीय गतिविधि, नदीनाला प्रतिको हेलचेक्रायाइँ र जलवायु परिवर्तनको असरले जलचर प्राणीहरू संकटमा परेको विज्ञ बताउँछन् । यस्ता कारणले माछा प्रजातिको प्रजननमै असर पुग्नुलाई उनीहरू निकै चिन्ताको विषय मान्छन् ।

'जलवायु परिवर्तनले माछाको प्रजननमै असर परेको देखिन्छ । फरक जलवायुले निम्त्याउने बाढीले गर्दा प्रजननका लागि जलाशयमा माछाले बनाएको खाल्डा पुरिन थालेको छ । पानीको तापक्रम बढ्नुले माछाको अण्डामा असर पर्‍याे । प्रजनन शक्ति नष्ट हुनु, सिमसार क्षेत्र सुक्नु र जलस्रोतबाट पानी अस्वाभाविक रूपमा निकालिँदा अण्डाहरू पनि सँगसँगै जानु निकै चिन्ताजनक विषय हो,' नार्कका पूर्व कार्यकारी निर्देशक तथा माछा विज्ञ डाक्टर टेकबहादुर गुरुङले भने ।

सिमसार क्षेत्र सुक्नु, कृषिमा राखिने रसायन तथा विषादी, औद्योगिक फोहोर, डम्पिङ साइड खोला नजिकै हुनु पनि माछाको लागि निकै हानीकारक रहेको उनले बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेज आलमले पनि उक्त कुरामा सहमत छन् । उनका अनुसार पनि प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधि तथा जलवायु परिवर्तनले गरेर स्थानीय जातको माछा नष्ट हुँदै गएका छन् । 'यो साँच्चै गम्भीर विषय हो । जलचर प्राणीमा धेरैखाले प्राकृतिक असर हुँदै छ । माछाको संरक्षण र प्रवर्द्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाशयमा हालेर सुदृढीकरणको अभियानमा हामी लागेको छौं, ' उनले भने । 

नेपाल माछाको उत्पादनको अवस्थामा आत्मनिर्भर तर्फ उन्मुख भए पनि लुम्बिनी प्रदेशबाट अन्य प्रदेशमा माछा निर्यात हुने गरेको छ । आत्मनिर्भरका लागि विभिन्न कार्यक्रम र आयोजनामार्फत अघि बढेको उनले बताए ।

माछाका लागि आवश्यक पर्ने तापक्रम तथा पानीमा भएको उतार चढावका कारण प्रत्यक्ष रूपमा माछाको स्वभाव र शारीरिक वृद्धि र विकास, प्रजनन र बसाईंसराइमा असर पारेपछि माछाको उत्पादकत्व घट्न थालेको विज्ञहरूको भनाइ छ ।

अप्रत्यक्ष रूपमा जलासयको उत्पादकत्व, संरचना, आहारा, बास तथा यसको तनावले पनि मत्स्य र मत्स्य पालनको क्षेत्रमा समस्या बढेको छ । जलवायु परिवर्तनका कारण मत्स्य श्रोतको उत्पादकत्व मात्र नभई जातीय विविधता लोप हुने खतरा बढेको पाइएको छ । असला, शहर कत्ले, गर्दी जस्ता ठूला ठूला माछा खाने कुराको कमी भएमा र शत्रुबाट बच्न र प्रजननका लागि लामो दूरीसम्म पनि माइग्रेसन हुनुपर्ने हुन्छ । तर, उनीहरूको यात्रामा आजकल प्रशस्त अवरोध देखिन्छ । मानवीय क्रियाकलाप, ड्याम र जलस्रोतमै कंक्रिटको विकासले गर्दा उनीहरू निर्वाध यात्रा गर्न पाउँदैनन् । फलस्वरूप ती प्रजातिका माछाहरू थप संकटमा पर्दै गएका छन् । 

यिनै कारणहरूले गर्दा माछा पालन व्यवसायमा पनि असर परेको, उत्पादकत्व घटेको किसानहरू बताउँछन् । त्यसैगरी, बढ्दो तापक्रमले उही स्थानमा पनि प्रत्येक वर्षमा उत्पादन हुने माछाको जात पनि फरक पर्न थालेको छ । यसले समयअनुसार भरपर्दो मत्स्य बीज आपूर्ति नहुँदा पनि मत्स्य उत्पादनमा असर परेको मत्स्‍य जानकारहरू बताउँछन् ।

रूपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागु भई माछाको व्यवसाय प्रवर्द्धन गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको सम्वर्द्धनमा कृषकहरूका लागि सहयोग गर्दै आएको छ । यसलाई सरकारले पनि प्राथमिकतामा नराखेको हैन । तैपनि सरकारको चासो र कार्यक्रम प्रशस्त नभएको स्थानीयको गुनासाे छ । मोहम्मद हबिब/न्युज कारखाना


Author

थप समाचार
x