वातावरण

‘ताउ–ते’ कमजोर बन्दै, नेपालमा कम असर देखिने

इकागज |
जेठ ६, २०७८ बिहीबार १३:४३ बजे

काठमाडौँ : केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ ।

‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए । यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उनले बताए । सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ । त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ ।


'अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, भोलि (शुक्रबार) बाट केही खुल्दै जानसक्छ, साँझ हामी अपडेट गर्ने नै छौँ', श्रेष्ठले भने । उनका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको जानकारी दिए ।

ताउ–ते आज भारतको राजस्थान आसपासमा रहेको छ । त्यसको प्रभाव बुधबारभन्दा थप कमजोर छ र अहिले उत्तर पूर्वतिर अगाडि बढ्दै छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत रहेकाले मौसममा बदलाब आइरहेको हो । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । काठमाडौँ उपत्यकामा पनि बुधबार साँझदेखि नै सिमसिम पानी परेको थियो । यो क्रम आज बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन । आज प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात÷वर्षा हुने अनुमान छ । 

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको र राति प्रदेश नं १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतः सफा रहने विभागले जनाएको छ ।


Author

थप समाचार
x