वातावरण

काठमाडौं उपत्यकाकाे फोहर अब बन्चरेडाँडामा विसर्जन हुने

इकागज |
जेठ ६, २०७८ बिहीबार १६:२४ बजे

काठमाडौँ : वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । यही जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड–१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने समयसीमा पर धकेलिएको हो ।

यसअघि भएका ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन् तर अहिले केही बढी काम गर्नुपर्ने भएकाले अन्य केही जनक्ति थप्नुपर्ने छ । कोरोनाका कारण कामदार ल्याउन समस्या भएको बताइएको छ । समग्रमा  निर्माणको कामअन्तर्गत अहिले ६३ प्रतिशत काम सम्पन्न भएको छ । सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको र पहिलो सेलको काम थोरै मात्र बाँकी रहेकाले वर्षाको समयअघि नै फोहर विसर्जज गर्न सकिने गरी काम भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका आयोजना उपप्रमुख मनोज नकर्मीले जानकारी दिए । अहिले सेल वानको पोखरी ढलानको काम भइरहेको छ ।


शहरी विकासमन्त्री प्रभु साहले फागुन तेस्रो सातासम्ममा फोहर विसर्जन गर्न मिल्ने गरी काम सक्न कामदारलाई निर्देशन दिनुभएको थियो । फागुन पहिलो साता नै मन्त्री साहले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको जनाउँदै काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनीसमेत दिनुभएको थियो ।

केही समय कोरोना भाइरसका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौँ महानगरपालिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप उक्त जिम्मेवारी पाएको हो । उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने छ ।


Author

थप समाचार
x