वातावरण

शक्तिशाली चक्रवातले सगरमाथा आरोहण प्रभावित

इकागज |
जेठ १०, २०७८ सोमवार ७:१० बजे

फाइल फोटो

काठमाडौँ : पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई धेरै शक्तिशाली चक्रवातमा परिणत भएपछि हिमाल आरोहण प्रभावित भएको छ । बंगालको खाडीबाट भारतमा पर्ने त्यसको असरको केही भाग नेपालसम्म पनि आउने भएको हो ।

जसकारण वर्षाको सम्भावना छ भने हिमालमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले विशेष विज्ञप्ति निकालेर जानकारी दिएको छ । आज दिउँसो सोही चक्रवातका कारण धेरै ठाउँमा मौसम बदली हुनुका साथै हिमालमा हिमपात हुने भएपछि सगरमाथा आरोहणको काम प्रभावित भएको छ ।


हिजो मात्रै सगरमाथा शिखरमा सयौँ आरोही पुगेका थिए । तर मौसम बिग्रने पूर्व सूचना पाएसँगै उनीहरु बेसक्याम्पमा फर्केका छन् । यस सिजनको दोस्रो आरोहण हिजो मात्रै भएको थियो । 

न्युन चापीय क्षेत्र र त्यसबाट उत्पन्न चक्रवातका कारण आज देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोही सिस्टमले गर्दा उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केहि दिनसम्मका लागी पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले पनि विभागको विज्ञप्तिमार्फत मौसमी अवस्थालाई ध्यान दिन आरोहीलाई आग्रह गरेकी छन् ।

न्युन चापीय क्षेत्रको प्रभावका कारण भोलि बुधबारदेखि केहि दिन हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना छ। उच्च हिमाली भूभागहरूमा हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन विभागले आग्रह गरेसँगै आरोही निराश बनेर आधार शिविर फर्किएका हुन् ।

यसअघि भारतमा आएको ताउते आँधीका कारण तीन दिन पहिले पनि वर्षा भएको थियो । 


Author

थप समाचार
x