काठमाडौँमा किन बढ्छ वायु प्रदूषण ?
काठमाडौँ- केही दिनदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । विश्वको प्रदूषित सहरहरूमध्ये तेस्रो नम्बरमा रहेको काठमाडौँ आज पहिलो नम्बरमा आएको छ ।
आज बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४७ थियो भने भक्तपुरको एक्युआई सबैभन्दा बढी ३१२ छ । त्यस्तै ललितपुरको एक्युआई १९६ छ ।
एक्युआई शून्यदेखि ५० सम्म भयो भने एकदम राम्रो (ग्रीन) मानिन्छ । एक्युआई ५१ देखि एक सयसम्मलाई होसियार (पहेंलो) मानिन्छ । एक सय एकदेखि १५० सम्मलाई असर गर्ने रूपमा लिइन्छ । १५१ देखि दुई सयसम्मको एक्युआइलाई अस्वस्थकरका रुपमा लिइन्छ । त्यस्तै दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथकर मानिन्छ । तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ । अहिले ठ्याक्कै नेपालको तीन सयको हाराहारीमा छ, जुन अति अस्वस्थकर हो ।
२०७७ सालमा काठमाडौँको रत्नपार्कको एक्युआई ६ सयमाथि पुगेको थियो । त्यसयता त्यति धेरै भने पुगेको छैन ।
चारैतिर डाँडाले घेरेको कारणले पनि काठमाडौँमा बढी प्रदूषण हुने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले इकागजलाई बताए । उनका अनुसार काठमाडौँमा डाँडाले घेरेकाले प्रदूषण बाहिर जान नसकेको हो । उनले काठमाडौँमा प्रदूषण अझै बढ्ने बताए ।
वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले इकागजलाई बताए । उनले डढेलो र जथाभावी फोहर जलाएकाले बढी प्रदूषण भएको बताए । 'देशभर लागेको डढेलोको असर काठमाडौँ उपत्यकामा परेको छ,' भट्टले भने, 'डढेलो लगाउन नहुनेबारे सचेतना फैलाउनुपर्छ र डढेलो लगाउनेलाई कारबाही गर्नुपर्छ ।'
संसारका वायु प्रदूषण हुने १० वटा ठूला सहर भारतमा पर्छ । आजै अप्रिल १० मा आइक्यु एयरमा हेर्ने हो भने भारत पुरै रातो अर्थात अति अस्वस्थकर मात्रै देखिन्छ । काठमाडौँ, भारतको बिहार, दिल्ली, पटनादेखि उडिसासम्म र बंगलादेशमा बढी वायु प्रदूषण छ । बिहानभन्दा अझ बढी दिउँसो र साँझमा बढी प्रदूषण बढ्छ ।
वायु प्रदूषण बढ्नुको कारण
वायु प्रदूषण बढ्नुको विभिन्न कारणहरू छन् । यतिबेला पश्चिम वायु कमजोर हुन्छ । कहिले एक्टिभ हुन्छ त कहिले इनएक्टिभ हुन्छ । किनभने पश्चिम वायुको फ्रिक्वेन्सी हुन्छ । पश्चिम वायु कमजोर हुनुको असर वायु प्रदूषणमा पर्छ । 'यतिबेला सुख्खा हुन्छ अनि धुलो उड्छ र धुलो वायुमण्डलमा जान्छ । त्यस्तै सुख्खाको कारण धेरै डढेलो लाग्छ र त्यो धुवाँ वायुमण्डलमा जान्छ,' उप्रेतीले भने, 'जति सवारीसाधन चल्छ त्यसको धुवाँधुलो पनि वायुमण्डलमा जान्छ । एउटा ओजनको लेयर बन्छ । त्यो लेयर एउटा धेरै माथि आकाशको नजिक हुन्छ भने अर्को पृथ्वीको नजिक हुन्छ । त्यसले इन्फिकेसन ल्याउँछ । वायु प्रदूषण हट्ने दुई वटा उपाय मात्रै छन् । एउटा हावा चल्नु पर्यो । अर्को पानी पर्नु पर्यो । हामीमा अहिले न हावा चलेको छ न पानी परेको छ ।'
काठमाडौँ उपत्यकामा किन बढ्छ वायु प्रदूषण ?
'काठमाडौँ आज विश्वको सबैभन्दा बढी प्रदूषण हुनुको कारण भनेको काठमाडौँको जुन आकार छ चारैतिर डाँडाले घेरेको उपत्यका छ । उपत्यका भएकाले यहाँ बाहिरबाट प्रदूषण आउँछ तर यहाँबाट प्रदूषण बाहिर जान पाउँदैन,' उप्रेतीले इकागजसँग भने, 'काठमाडौँ डाँडाले घेरेकाले प्रदूषण बाहिर जानलाई दुई वटा तरिका छ । एउटा जोडले हावा चल्नु पर्यो त्यसले प्रदूषण बाहिर लैजान्छ । अर्को त पानी पर्नु पर्यो । काठमाडौँमा यी दुवै नभएकाले २/४ दिन प्रदूषण निकै बढ्दै जान्छ । चैत ३० गते वैशाख १ गते पानी पर्ने भएकाले प्रदूषणको विष पखाल्छ । तर त्यसपछि फेरि प्रदूषण बढ्छ ।'
वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको उल्लेख गरिएको छ । जसको पहिलो स्थानमा मुटु तथा रक्तनलीसम्बन्धी रोग उल्लेख छ । त्यस्तै दोस्रोमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग रहेको छ ।
वायु प्रदूषणले मानिसको स्वास्थ्यमा तत्कालभन्दा बढी दीर्घकालीन असर गर्छ । जस्तै श्वासप्रश्वास, दीर्घ रोग, मुटु तथा रक्तनली सम्बन्धी रोग, दमको रोग, फोक्सोको क्यान्सरको जोखिम, आँखा, नाक र घाँटीको संक्रमणलगायत रोगहरू निम्त्याउँछ ।
मर्निङ वाक र इभिनिङ वाक नगरौँ
बुझ्नुपर्ने कुरा २/३ वटा महत्वपूर्ण कुरा छ । बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग गर्नुपर्छ । १५/२० दिन मर्निङ वाक र इभिनिङ वाक नगर्दा राम्रो हुन्छ । बाहिर गर्ने व्यायामहरू इनडोर गरौँ ।
प्रदूषणले आँखा पोल्ने, बिझाउने, सुक्खा हुने, पाक्नेलगायत समस्या देखिने नेत्र रोग विशेषज्ञ प्रा. डा. सुनु दुलालले बताइन् । आँखा पोल्दा र बिझाउँदा आँखा मिच्न नहुने उनले बताइन् । उनका अनुसार आँखा मिच्दा घाउ हुन सक्ने र अन्धोपनसम्म हुन सक्ने उनले जानकारी दिइन् ।
वायु प्रदूषणले बालबालिकामा निकै असर गर्छ, स्वासप्रश्वासमा । मुटुको रोगी, वृद्धवृद्धालाई धेरै गर्छ । जस्तै कसैलाई कोभिड भएको छ भने उसलाई धेरै असर गर्छ । किनकी कोभिडको विरामीलाई खोकी लाग्छ, खोकीले झन गाह्रो बनाउँछ । गर्भवतीलाई पनि गाह्रो बनाउँछ ।
'हामीले हावाको नाममा विष नै खाइरहेका छौँ । यसको असर करिब ६ महिनापछि देखिन्छ । क्यान्सर, फोक्सो बिरामीलाई झन् बढी सताउँछ । मुटुको बिरामीलाई धेरै असर गर्छ,' उप्रेतीले भने, 'अहिलेको प्रदूषणमा लिड पनि छ, माइक्रो इलिमेन्टहरू धेरै हुन्छ । अहिलेको अहिले नै धेरै असरभन्दा पनि खाँदै गर्दा असर गर्ने हो । हावामा हुने २.५ पीएम ३१ गुणा बढी छ । डब्लुएचओले तोकेको भन्दा ३१ गुणा बढी हुनु भनेको धेरै हो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया