वातावरण

यस वर्ष काठमाडौँमा किन गर्मी बढिरहेको छ ?

'दुई-तीन दिनमै वर्षा भित्रिएसँगै तापक्रम घट्छ'

अतिन आचार्य |
जेठ ३१, २०८१ बिहीबार १५:४६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- यस वर्ष देशैभरको तापक्रम तथा गर्मी बढेको सर्वसाधारणले महसुस गरेका छन् । विशेषगरी तराईमा तापक्रम उच्च रहने गर्दछ । बिस्तारै तराईको गर्मी पहाडतर्फ उक्लँदै गएको छ ।

विगत वर्षमा झै यो पटक पनि काठमाडौँ उपत्यकाबासीले गर्मीको महसुस गरेका छन् ।  सर्वसाधारणले यस पटक केही दिनदेखि अत्यधिक गर्मी बढिरहेको बताइरहेका छन् ।


काठमाडौँका सडक वा चोकमा निस्कने भने मानिसहरूको गफ गर्मीको विषय बन्छ । अझ बाटोमा मानिसहरूले फ्यान बोकेर लगिरहेको समेत देखिन्छ । सडकमा निस्कँदा प्रायको हातमा छाता देखिन्छ ।

आखिर काठमाडौँमा किन गर्मी बढ्यो त भनेर इकागजले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेलाई प्रश्न गरेको छ ।

उनले पछिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यकामा तापक्रम बढिरहेको बताए । काठमाडौँ उपत्यकामा मात्र नभइ देशैभर तापक्रम बढेको उनको भनाइ छ । केही दिनअघि मात्र ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको उनले जानकारी दिए ।

‘दुई-तीन दिनदेखि काठमाडौँको तापक्रम बढिरहेको छ । हिजो मात्र ३४ दशमलव ३ डिग्री सेल्सियस थियो,’ मौसमविद लामिछानेले भने,’ आज पनि ३१ छ र बढ्दो क्रममा छ । ३२-३३ डिग्रीको हाराहारीमा रहेको छ ।‘

काठमाडौँ उपत्यका मात्र नभइ देशैभर गर्मी बढेको लामिछानेले दाबी गरे । सुदुरपश्‍चिम र लुम्बिनीको तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । पश्चिमी वायुको कारणले वर्षा हुन नसक्दा गर्मी बढेको मान्न सकिने उनको भनाइ छ । ‘पश्चिम वायुले मनसुन वायुलाई डोमिनेट गर्दा गर्मी बढेको हो,’ उनले भने ।

‘वायुको प्रभावले तत्कालै पानी पर्ने अवस्था देखिएको छैन,’ उनले अगाडि थपे,’ मनसुन बिस्तारै चलायमान भएकाले माथिल्लो तहमा गएकाले तत्काल पानी पर्ने सम्भावना छैन ।‘

गर्मी समयमा मनसुन सक्रिय नभएकाले बादल लागेन, घाम मात्र लाग्ने हुँदा गर्मी भएको उनले बताए । उनका अनुसार काठमाडौँ सन् १९८९ मा धेरै गर्मी भएको थियो । ३६ दशमलव ६ डिग्री मापन गरिएको थियो । सन् २०१५ मा ३३-३४ डिग्री तापक्रम पुगेको अवस्था थियो ।

लामिछानेले यस वर्ष पनि काठमाडौँको तापक्रम ३३-३४ डिग्री पुगिसकेको बताए । यस वर्ष काठमाडौँमा गर्मी रहेको र अझै बढ्न सक्ने उनले उल्लेख गरे । काठमाडौँको तापक्रम बढेर यति नै पुग्छ भनेर अनुमान गर्न नसक्ने उनले जानकारी दिए ।

उनका अनुसार तराई क्षेत्रमा अझै पनि ४०-४२ डिग्री तापक्रम रहने अवस्था देखिन्छ । पश्चिमी क्षेत्रमा ४३-४४ डिग्री तापक्रम पुग्न सक्ने देखिन्छ । पुर्वी क्षेत्रमा बिस्तारै तापक्रम घट्ने देखिएको छ ।

उनले केही दिनमै काठमाडौँ उपत्यका लगायतका स्थानमा तापक्रम घट्ने दाबी गरे । मनसुन भित्रिने भएकाले तापक्रम घट्ने उनको भनाइ छ । दुई-तीन दिनमा कोशी र मधेश हुँदै बागमतीमा मनसुन भित्रिने उनले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ मनसुन सक्रिय हुँदा मात्र काठमाडौँको तापक्रम घट्ने उनको दाबी छ ।

नेपालमा मनसुन जुन १३ मा भित्रिने गरेको छ । विगतको मनसुन अभ्यासले पनि त्यहीँ देखाएको छ । कोशी प्रदेशमा दुई-तीन दिनदेखि मनसुन भित्रिसकेको अवस्था छ ।

दुई दिन पछाडिदेखि काठमाडौँको तापक्रम घट्न सक्ने लामिछानेले बताए ।

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x