वातावरण

एक महिनामै देशभर बाढीपहिरोमा परी ८८ जनाले ज्यान गुमाए

३ हजार ४ सय ६२ घर परिवार विस्थापित

इकागज |
असार २७, २०८१ बिहीबार १७:५४ बजे

काठमाडौँ- जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ । एक महिनामै बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । 

काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।


त्यसैगरी कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना बेपत्ता भएका छन् ।

त्यसैगरी बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बाढीको कारण जम्मा १ सय ७६ घर डुबानमा परेका छन् । १ सय ६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ७९ वटा पशु चौपायाको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ४ सय ६२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।


Author

थप समाचार
x