वातावरण

काठमाडौँ महानगर

पेट्रोल पम्प पुगेका अपांगता भएका चालक 'शौच' थामेर फर्कन्छन्

'धाराको टुटी चोर्नेदेखि प्यानमा प्याड हाल्ने सेवाग्राही'

अतिन आचार्य |
साउन १८, २०८१ शुक्रबार १५:४९ बजे

काठमाडौँ- सर्वसाधारणको पहुँच पुर्‍याउँन काठमाडौँ महानगरले पेट्रोल पम्पका शौचालयलाई सार्वजनिक शौचालय बनाउने निर्णय गर्‍यो । पम्पमा विभिन्न खालका सेवाग्राहीहरू पुग्ने गरेका छन् ।

पेट्रोल पम्पमा सबैभन्दा बढी समस्यामा शारीरिक रुपमा असक्षम वा अपांगता भएका चालकहरू पर्ने गरेका छन् । महानगरभित्रका अधिकांश पेट्रोल पम्पमा सार्वजनिक शौचालय भए पनि अपांगमैत्री नभएको पाइएको छ ।


काठमाडौँ महानगरपालिकाले सम्बन्धित पेट्रोल पम्पलाई अपांगमैत्री शौचालय बनाउन निर्देशन दिइसकेको छ । पम्प सञ्चालकले पुराना संरचना भएका शौचालयलाई निरन्तरता दिँदा अपांगमैत्री हुन सकेको छैन । भएका शौचालय अपांगमैत्री, अशक्त तथा शारीरिक रुपमा कमजोर भएका सवारी चालकहरू पेट्रोल पम्प पुग्दा शौच गर्न गाह्रो हुने उनीहरूले बताउन थालेका छन् ।

अहिले महानगर भित्रका पम्पमा अपांगमैत्री शौचालय भेट्न गाह्रो छ । अपांगमैत्री शौचालय बनाउन सञ्चालकले समेत ध्यान दिएको देखिँदैन ।

पेट्रोल पम्पमा तेल हाल्न पुग्दा शौच आएमा आफूलाई सहज नहुने बताउँछन रमेश केसी । उनको चार चक्के स्कुटर छ । पम्पमा भएको शौचालयमा तत्कालै पुग्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

‘शौचालय गर्न अप्ठ्यारो हुने भएकाले स्कुटरबाट झर्न नपरे हुन्थ्यो जस्तो लाग्छ । पेट्रोल हालेर म गइहाल्छु । पम्पमा भएका शौचालयको अवस्थालाई सम्झन्छु,’ केसीले भने, ‘पेट्रोल पम्पमा भएको शौचालय अपांगमैत्री छैनन् । त्यसैले घर नपुन्जेलसम्म दिसापिसाब लागे रोक्नबाहेक अरु उपाय छैन ।’

धेरै पम्पमा तेल हाल्न पुग्दा अपांगमैत्री शौचालय नभेटेको केसीको भनाइ छ ।

त्यसैगरी, अर्का चार चक्के स्कुटर प्रयोगकर्ता अपांग महासंघमा कार्यरत कर्मचारी नवीन बस्नेत महानगरपालिका भित्रका पेट्रोल पम्पहरूमा शौचालय प्रयोग गर्ने खालको नभएको बताउँछन् । पम्पमा पुग्दा हामीलाई अन्य सामान्य मानिसको जस्तो नहुने उनले बताए ।

पेट्रोल पम्प सञ्चालकले अपांगमैत्री शौचालय बनाउनुपर्ने उनले धारणा राखे । उनी भन्छन्,’ पम्पमा तेल हाल्न पुग्दा कतिपय अवस्थामा शौचालय नगरी फर्केको छु । धेरै पटक शौच थामेर फर्केको छु । सामान्य व्यक्तिले जस्तोसुकै शौचालयमा गरे पनि हुने तर हाम्रो लागि धेरै गाह्रो छ ।‘

पम्पका शौचालय अगाडि देखिने स्थानमा राख्‍न उनले सुझाव दिए । पम्पको निर्माण थोरै स्थानमा भएकाले शौचालय केही पर तथा भवन पछाडि राखिएको उनले उल्लेख गरे ।

काठमाडौँ महानगरका नगर प्रहरी बद्रीमान नगरकोटीले महानगरपालिकाभित्र सञ्चालित पम्पमा शौचालय अपांगमैत्री नभएको बताए । धेरै ठाउँमा अपांगमैत्री शौचालय नभएको उनले जानकारी दिए ।

पुराना-पुराना शौचालय भएकाले नयाँ अपांगमैत्री शौचालय बनाउन नसकेको नगरकोटीको भनाइ छ । पम्पमा शौचालय छ । अपांगमैत्री शौचालय छैन,’ उनले भने,’ नयाँ बनेको पम्प र शौचालयमा अपांगमैत्री संरचना बनेका छन् ।‘

उनका अनुसार मकालु र सीता पेट्रोल पम्पले अपांगमैत्री संरचना बनाएका छन् । अन्य केही पम्पले पनि अपांगमैत्री बनाउन थालेका छन् । काठमाडौंमा ४८ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । महानगरको डाटामा भने ५० वटा पम्प छन् ।

पेट्रोल पम्प सञ्चालकलाई अपांगमैत्री शौचालय निर्माण गर्न निर्देशन दिएको उनको भनाइ छ । ‘सञ्चालकले विस्तारै बनाएर लैजानुहुन्छ भन्ने आशा गरेका छौ,’ उनले अगाडि थपे ,'अधिकांश शौचालयको अनुगमन गर्दा सफाइको अवस्था सन्तोषजनक रहेको थियो । पानी नभएको र केही ठाउँमा शौचालय निर्माण हुँदै गइरहेको छ ।'

अनुगमनको क्रममा तीन ठाउँको शौचालय फोहोर रहेको पाइएको उनले जानकारी दिए । बल्खुको साझा पेट्रोल पम्प, सानो भर्‍याङको बंगलामुखी पेट्रोल पम्प र ढल्कुको नेवा फ्युल सेन्टरको शौचालयमा फोहोर भेटिएको उनले उल्लेख गरे ।

तीनकुनेस्थित भ्यालीबाबा पेट्रोलपम्पका सञ्चालक राजकुमार साहले पेट्रोल पम्पको जग्गा साँघुरिदै गएकाले शौचालयको आवश्यक संरचना निर्माण गर्न नसकिएको बताए । उनका अनुसार ठाउँ अभाव हुँदा अपांगमैत्री बनाउन नसकिएको उनको ठहर छ । आजसम्म पम्पमा अपांगता भएका व्यक्तिहरू तेल हाल्न आएको थाहा छैन ।

अपांगमैत्री शौचालय बनाउनु पर्ने अवस्था आएमा पम्प तयार रहेको उनको भनाइ छ । ‘महानगरले भने अनुसार शौचालय बनाएका छौ,’ उनले भने,’ महानगरले भने बमोजिम शौचालय खुला राखिन्छ । ढोकामा चाबी लगाइएको छैन । ‘

शौचालयमा पानी र भाँडा राख्दा पनि सेवाग्राहीले सफा नगरेकोमा उनले गुनासो गरे । कुनै सेवाग्राहीले फोहोर गर्‍यो त्यसलाई हामीले सिसी क्यामेराबाट हेर्न नमिल्ने उनले प्रस्ट पारे ।

अर्का पम्प सञ्‍चालकले सेवाग्राहीले शौचालय प्रयोग गरेर त्यसको संरक्षण गर्न नसकेको गुनासो गरे । सेवाग्राहीले धाराको टुटी चोरेर लैजाने गरेको उनले बताए । 

महिला सेवाग्राहीले प्याड शौचालयको प्यानमा हालिदिने गरेको उनले गुनासो गरे । अनावश्यक पानी प्रयोग गरेर र पानीको धाराहरू खुला गरेर जाँदा शौचालयको अभाव हुने गरेको उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x