वातावरण

जलवायु परिवर्तनका असर नियन्त्रणमा तिनै तहका सरकारबीच समन्वयमा जोड

इकागज |
भदौ २२, २०८१ शनिबार २१:५१ बजे

तस्विरः श्याम राई

शिवपुरी- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र क्षयीकरण रोक्नका लागि तिनै तहका सरकारले बजेट सुनिश्चित गर्नाका साथै समन्वय गर्नुपर्ने बताएका छन् ।

शनिवार सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’ का सम्बन्धमा आज गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, शिवपुरी–७, सूर्यचौर, नुवाकोटमा आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री तामाङले विकासबाट विनाश हुन जोगाइने तथा वातावरण, मानव र वन्यजन्तु संरक्षणका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


पत्रकारहरूको प्रश्न तथा जिज्ञासामा उनले नागमती बाँधबाट बिजुली पनि निकालिने बताउँदै त्यसबाट मानव र मानव बस्तीमा पर्नसक्ने असरबारे अध्ययन–अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे ।

सोही अवसरमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले झरना, हरियालीपूर्ण वातावरण, शक्तिपीठहरू भएको तपोभूमि शिवपुरीमा आन्तरिक पर्यटन बढाएर स्थानीय जनताको आयआर्जन बढाउन गाउँपालिकाले प्रचारप्रसार, महोत्सव, घरबास तालिम जस्ता कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए ।

 शिवपुरीले छिमेकी ककनी गाउँपालिकासँग पनि मिलेर काम गर्ने सोच बनाएको छ । लौके झरना पदयात्रा समाजको आयोजनामा शिवपुरी–८ स्थित सानो र ठुलो छहरे झरना अवलोकनका लागि राजधानी र नुवाकोटमा कार्यरत सम्पादक, पत्रकारहरुको पदयात्रा र अवलोकन कार्यक्रम सम्पन्न भयो ।

पदयात्रामा समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्याम डोटेल, वियोगी पत्रकार अध्ययन केन्द्रका संरक्षक किरण वैद्यलगायत करिब एक सय पत्रकारको सहभागिता थियो ।

काठमाडौँ र नुवाकोटको सिमाना गुर्जे भन्ज्याङबाट पश्चिमपट्टि पर्ने करिब १५० फिट अग्लो सो झरना लौका आकारको रहेको छ र त्यसबाट झरेको पानीको प्रभाव टाढासम्म पर्ने गरेको छ ।

गर्मीले आलसतालस भएका पत्रकार तथा अन्य आन्तरिक पर्यटकले ठुलो मुस्लो गरी झरेको झरनाको छिटाको स्पर्श लिनाका साथै केहीले स्नानसमेत गरेर आनन्द लिए ।

 शिवपुरी गाउँपालिकामा आकार र पानीको परिमाणका हिसाबले ठुला झरनामा लौके, लप्से, चिलाउने, लक्षिनेश्वरी र छुङछुङ छन् भने नुवाकोट जाने बाटामा ससाना थुप्र्रै झरना रहेका छन् ।

टाढा जान नसक्ने र जान नचाहने आन्तरिक पर्यटकहरू त्रिशूली–छहरे काठमाडौँ सडकका छेउछाउमा रहेका ससाना झरनामा पुगी मनोरञ्जन लिने गर्छन् । पर्यटकहरूका लागि बाटामा ससाना पसलहरू पनि खोलिएका छन् ।

त्यस्तै बाटाहरू सम्याइनुका साथै ठाउँठाउँमा सिँढी, काठेपुल पनि बनाइएका छन् । सम्पादक समाज कार्यसमिति सदस्य तथा स्थानीय ‘त्रिशूली प्रवाह’ साप्ताहिकका प्रकाशक एवं सम्पादक शरणउत्सुक सापकोटाले समाजले नुवाकोटका विभिन्न पर्यटकीयस्थलहरूको प्रचारप्रसार गर्न पदयात्रा, अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो । -रासस

 


Author

थप समाचार
x