वातावरण

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

इकागज |
चैत ४, २०८१ सोमबार १७:२१ बजे

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा सोमबारदेखि शुरू भएको ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ गर्दै मन्त्री खड्काले हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने बताए । 


‘हिमताल फुट्दाको जोखिमबाट उत्पन्न हुने अवस्था भयावह छ, यो फुटेपछि मानवीय क्षतिसँगै आयोजनाको समेत ठूलो क्षति हुने भएकाले यसलाई समयमै जोगाउनर्फ लाग्नुपर्छ’, मन्त्री खड्काले भने । 

उनले जलवायु परिवर्तन र विश्वमा भएको तीव्र औद्योगीकरणका कारण विश्वको तापक्रम बढ्दै जाँदा यसको असर नेपालका हिमालमा परेको भन्दै चिन्ता व्यक्त गरे । 

‘हिमाल उत्पत्ति भएसँगै हिमताल बनेका छन्, प्राकृतिक हिमतालको संरक्षण गर्नु आजको आवश्यकता हो, हिमतालको संरक्षणका लागि आगामी वर्ष बजेटको व्यवस्था गर्छौं’, उनले भने ।

मन्त्री खड्काले जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीको घट्दो अवस्था तथा जल र मौसमको बदलिँदो स्वरूपलाई दृष्टिगत गर्दै सरकारले नीति निर्माणदेखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । पानीको अधिकतम उपयोग र संरक्षण गर्नतर्फ सबै लाग्नुपर्ने उनको भनाइ छ ।
  
सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गरिने मन्त्री खड्काले बताए ।
     
मन्त्री खड्काले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशसँग मिलेर काम गर्नसक्ने थुप्रै अवसर रहेको बताए । उनले जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थासँग सहकार्य गरी नेपालका जलस्रोतको दिगो व्यवस्थापन तथा विकासलाई सुनिश्चित गर्न लाग्ने उल्लेख गरे ।

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुप्रसाद भेटुवालले एक हप्तासम्म चल्ने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहले पानी, जलवायु, मौसमलगायतका विषयमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए । 

उनले जल तथा मौसमसम्बन्धी अनुसन्धान, नीतिगत सुधार, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
     
उक्त सप्ताह यही चैत १० गतेसम्म चल्नेछ ।     


Author

थप समाचार
x