वातावरण

जनकपुरधामवासी फोहोरमै दिपावली मनाउन बाध्य

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १५:८ बजे

जनकपुरधाम- स्वच्छताका प्रतिक भनिएको दिपावली पर्व जनकपुरधामवासी यसवर्ष फोहोरमै मनाउँदै छन् । जनकपुरधाम उपमहानरपालिकाले प्रमुख बजार क्षेत्रको फोहोर नउठाउँदा पसल र व्यवसायिक प्रतिष्ठान अगाडि थुपारिएकाे फोहोरकै बीच स्थानीय दिपावली मनाउन बाध्य छन ।

ल्याण्डफिल्ड साइटको आभावमा हप्तौदेखि जनकपुरधाम उपमहानगर फोहोरमय रहेको छ । हुन त गत चार दिन अगाडि वडाध्यक्षहरुले फोहोर व्यवस्थापनको माग गर्दै नगर प्रमुख लालकिशोर साहको निवास अगाडि फोहोर फालेर उपमहानगको कार्यालय अगाडि घण्टौ सडकजाम गरि आन्दोलन नै गरेका थिए ।


वडाध्यक्षहरुको आन्दोलनको क्रममा निमित प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले तीन दिनभित्र नगर भित्रका सबै फोहोर व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका थिए । तर तीन दिन बितिसक्दा पनि उपहानगरको प्रमुख बजार क्षेत्र सोनारपट्टी, जानकी चौक, जनक चौक शिव चौक लगायतका ठाउँको फोहोर उठाइएको छैन ।

नियमित रुपमा फोहोर नउठाउँदा फोहोरमय थियो नै त्यसमा पनि दिपावलीको अवसरमा व्यवसायिक प्रतिष्ठान, पसल र घरहरु सरसफाइ गरेको फोहोर समेत थुपारिन गएपछि अझै फोहोर थन्किन गएको हो । बजार क्षेत्रमा प्रत्येक पसल अगाडि फोहोर थुपारिएको छ ।

पसल र बाटो चिटिक्क गरिए पनि छेउमै फोहोरको थुप्रो राखिएकोले दिपावलीमा सरसजावट गरिएका आर्कषण नै हराउन गएको देखिन्छ । पसल र घरको सरसजावट झिलीमिली बतीले आर्कषण गरेपनि फोहोरले गर्दा स्थानीय दुखी छन् । उनीहरुले उपमहानगरको लापरबाहीको कारण यस्तो दुर्दशा भोग्नु परेको आक्रोश पोखेका छन ।

स्थानीय कपडा व्यवसायी संजय रौनियारले भने 'नगर प्रमुख भ्रष्टाचारमा लिप्त रहेको कारण सरसफाइमा ध्यान नपुर्‍याएकोले आफूहरु फोहोरमै दिपावली मनाउन बाध्य छु ।'

त्यस्तै अर्का व्यवसायी सुरेन्द्र साहले नगर प्रमुखको लापरवाहीका कारण हप्तौदेखि सरसफाइ हुन नसक्दा बजार क्षेत्र फोहोर र दुर्गन्धित हुन गएको र तत्काल समस्या समाधान नभए तिहारपछि स्थानीयवासी नगरप्रमुख विरुद्ध आन्दोलनमा जाने बताए ।

हप्तौदेखि फोहोर व्यवस्थापन किन हुन नसकेको जिज्ञासामा उपप्रमुख रिता मिश्रले भनिन्, 'फोहोर फाल्ने ल्याण्ड अभावले गर्दा यस्तो अवस्था आएको हो । हामी फोहोर व्यवस्थापनमा जुटेका छौं केही ठाउँमा अझै रहन गएका छ त्यो पनि चाँडै नै व्यवस्थापन गर्नेछौं ।'

चार वर्षको अवधिमा पनि ल्याण्डफिल्ड साईट व्यवस्थापन हुन नसक्नु र पटक-पटक बजेट छुट्याएपनि फ्रिज हुने गरेको प्रसंगमा उपप्रमुख मिश्रले भनिन्, 'केही हदसम्म मेयर साबको पनि लापरवाही छ, तर यो एक्लै उपमहानगरपालिकाले सक्ने नभएकाले सबैको सहयोग आवश्यक छ ।'

अहिले बजार क्षेत्रका केही ठाउँको फोहोर उठाएपनि त्यो बजार क्षेत्रमै उपमहानगरको आफ्नै अतिथि गृहमा थन्काउने गरेको छ । कुनै समयमा जनकपुरधाम आउने देशी तथा विदेशी पाहुनाको बस्ने स्थल रहेको अतिथि गृह अहिले फोहोरको डुंगुरमा परिणत हुन गएको छ ।
 


Author

थप समाचार
x