वातावरण

एक महिने रानीपोखरी सरसफाई अभियान सुरु

इकागज |
पुस १२, २०७८ सोमबार १६:२३ बजे

फाइल फाेटाे

काठमाडौँ- विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका हुन् । 

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । 


उनले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिएपनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न लागिएको बताए । 

अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक फोहोर नगरौँ एक महिने अभियान सुरु गरेको बताए । 

विश्व सरसफाई अभियन्ता मानवले भने, ‘काठमाडौं भ्यालीलाई २०१५ सालदेखि यो ठाउँमा नगरपालिका बनेदेखि सफाईको जिम्मेवारी महानगरपालिकाले पाएको हो । त्यसबेलादेखि अहिलेसम्म काठमाडौं सफा भएको छैन । त्यसकारण यसलाई हामी सबैले यो हाम्रो मेथर्डलाई अब चेन्ज गर्नुपर्छ । मूल्यांकन गरौँ । भन्ने सोचका साथ २०६७ भाद्रबाट विश्वका र नेपालको विभिन्न फोहोर शहरहरु बढारेर हिँडेका छौँ । हामी पुस ४ गतेदेखि माघ ४ गते एकमहिनासम्म काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा बिहान ६ देखि ९ बजेसम्म र १२ जनासम्मले बढार्ने र त्यसपछि फेरि ११ देखि ४ बजेसम्म फोहोर नगरौँ अभियान शुरु गरेका हौँ । त्यसपछि फेरि राति ८ देखि ११ बजेसम्म रानीपोखरी, जमलको वरिपरीका बाटो र पेटीमा दिनको तीन पटक सफा गर्ने अभियान शुरु गरेका छौँ ।’

अभियन्ता मानवले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्ने बारेमा छलफल गरेर सरसफाईका कार्यक्रमलाई अघि बढाउनु पर्ने बताए । 

यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ । केहि साना संरचनाको निर्माणको काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ । रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ । 

रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वार सँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ । यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।


Author

थप समाचार
x