वातावरण

निजी वनजन्य सम्पदा निर्वाध भोगचलनको माग

इकागज |
पुस १४, २०७८ बुधबार १९:१० बजे

खोटाङ - खोटाङका स्थानीयले निजी जग्गामा लगाइएका वन सम्पदालाई अन्नबाली सरह बेच्न पाउनुपर्ने माग गरेका छन् । पारिवारिक निजी वन किसानहरूको सवालमा दिक्तेलमा बुधबार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीले किसानको स्वामित्वमा भएका जंगल तथा जडीबुटीको निर्बाध भोगचलन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्ने धारणा राखेका छन् । 

आफ्नो जग्गामा वन हुर्काएका दिक्तेलका मीनप्रसाद आचार्यले व्यक्तिको स्वामित्वमा रहेका साल, उत्तिस, चिलाउने जस्ता रुखमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेका छन् । 'अन्य वन क्षेत्रको रुख काट्न पाउने तर व्यक्तिका निजी अधिकार भएको जग्गामा रहेका रुख काट्न नपाउनु स्वतन्त्रता र व्यक्तिगत सम्पत्तिको अधिकारको उल्लंघन हो,' आचार्यले भने, 'निजी जग्गामा संरक्षण गरिएका वन सम्पदालाई अन्नबाली सरह बेच्न पाउनु पर्छ र त्यसको सहजरुपमा बजार पहुँच व्यवस्था हुन आवश्यक छ ।' 


आफ्नो निजी जमिनमा उत्पादन भएका काठ तथा जडीबुटीजन्य उत्पादनको विक्रीवितरणमा सहज कानुनी प्रावधान नहुनु विडम्बना भएको सहभागीले औंल्याएका छन्। 

एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले आवादी जग्गामा उत्पादित काठ तथा जडीबुटीजन्य उत्पादनको ओसार–पसारमा रहेको झन्झटिला नीतिगत अवरोध हटाएर किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्थाको खाँचो औंल्याएका छन् । कांग्रेस नेतृ डिल्लीकुमारी आचार्यले किसानको बारीको छेउछाउमा हुर्केका रुखविरुवाको सहज विक्रीवितरण गरी जीविकोपार्जनमा टेवा पुर्‍याउनुपर्ने धारणा राखेकी छन् ।

यस्तै, जनता समाजवादीका प्रदेश सचिव सूर्यबहादुर राईले पारिवारिक निजी वनमा किसानको हक अधिकार सुनिश्चित गर्नका लागि नीति निर्माण प्रक्रियामा उनीहरूको सहभागिता र पहुँच विस्तारमा जोड दिएका छन् । कार्यक्रम पारिवारिक निजी वन संघ खोटाङले आयोजना गरेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक विशाल भट्टराई, पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी लगायतले बोलेका थिए । 


Author

थप समाचार
x