वातावरण

पर्वतका डाँडामा हिउँ खेल्नेको लर्काे

इकागज |
माघ २३, २०७८ आइतबार १६:४१ बजे

फाइल तस्वीर

पर्वत – गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले यहाँका अग्ला डाँडा सेताम्मे बनेका छन् । जिल्लाको लेखफाँट, शालिजा, बनांै, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ । शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो । शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को नै लागेको छ । 

सदरमुकाम र आसपासका गाउँदेखि हिउँ खेल्न आउनेको लर्को नै लागेको स्थानीयवासीले बताएका छन् । कतिपय आफ्नै सवारीसाधन लिएर त कतिपय गाडी रिजर्व नै गरेर भए पनि हिउँ खेल्न आएको जलजला गाउँपालिका–९ बनौंका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । 


उनका अनुसार शनिबार बनौमा मात्रै सयाैँ सवारीसाधनमा मानिस हिउँ खेल्न आएका थिए । यो हिउँ झण्डै एक सातासम्म नपग्लने भएकाले खेल्न आउनेको सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । शनिबार बिदाको दिन परेकाले हिउँ खेल्न आउनेको सङ्ख्या अत्यधिक रहेको पुनले बताए।

त्यस्तै लेखफाँटको फलामेडाँडा, क्याङको हलहले, पञ्चासे क्षेत्रमा पनि आसपासका गाउँ र सदरमुकाम कुश्मा, बागलुङ तथा पोखराबाट समेत हिउँ खेल्नका लागि आउनेको सङ्ख्या उल्लेख्य रहेको थियो ।
 
हिउँ खेल्ने, तस्बिर खिचाउने र टिकटक बनाउने पारखी बढी मात्रामा हिउँ खेल्न गएको स्थानीय बुद्ध पुनले जानकारी दिए । सामाजिक सञ्जालमा समेत हिउँ खेलेका तस्बिर र टिकटकले भरिएको पाइएको छ । यहाँ हरेक वर्ष उच्च पहाडी भेगमा हिउँ पर्ने गर्दछ । वर्षमा एकपटक मात्र हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ । 


Author

थप समाचार
x