वातावरण

पश्चिमी वायुको प्रभाव

पोखरामा असिना, काठमाडौँमा वर्षा

इकागज |
फागुन ८, २०७८ आइतबार २१:१५ बजे

काठमाडाैँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैँमा पानी परेकाे छ । पाेखरामा भने असिना परेकाे छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको छ । पोखरामा असिनापानीसहित वर्षा भएको छ । पोखरामा सबैभन्दा बढी १९ मिलिमिटर वर्षा भएको छ । वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको छ । बुद्ध एयरले तीन उडान रद्द गर्नुपरेको जनाएको छ । 


काठमाडौँ उपत्यकामा आकास गड्याङगुडुङसहित पूर्ण बदली छ । बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी  भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि सोमबार पनि देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Author

थप समाचार
x