भँगेरा र भँगेरी, गायब हुन्छन् कसरी ?
'भँगेरा र भँगेरी
कुरा गर्छन् कसरी
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी'
राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवितामा भँगेरा र भँगेरीको चुरचुर र चिरचिरको जसरी बयान गरेका छन्, त्यो अचेल बिरलै सुन्न पाइन्छ । सानो चुलबुले भँगेरा चरा अन्य चराचुरुङ्गी भन्दा बढी मानवमैत्री चरा हो ।
कुनै समय यी चरा मानवहरू वस्ती वरिपरि टन्नै देखिन्थे । तर पछिल्लो केही वर्षयता यिनको संख्या तीब्र गतिमा खस्कँदै गएको छ । कतिपय सहरबाट त यी हराइ नै सकेका छन् ।
यही भँगेरालाई जोगाउन जागरुकता बढाउन हरेक वर्षको मार्च २० तारिखमा विश्व भँगेरा दिवस मनाउने गरिन्छ । यसवर्ष ‘मलाई भँगेरा मनपर्छ थिम’मा विश्वभर नै यो दिवस मनाइँदै छ ।अन्य सामान्य चराहरूको तुलनामा भँगेराहरू छिटो हराइरहेका छन् । बासस्थानको क्षति, कंक्रिटका टावरहरूको बृद्धि र सेलफोन विकिरणको फैलावट, देशी बोटबिरूवाको हराउँदै जानु, कीटनाशकको अत्याधिक प्रयोग हुनु लगायत विभिन्न कारणले भँगेराहरूको संख्यामा कमी ल्याइरहेको छ ।
भँगेरा पूर्ण रूपमा हराउनु अघि नै यिनीहरूलाई बचाउनतिर लाग्नुपर्छ । भँगेरा हराउनुका केही मुख्य कारणहरू तल व्याख्या गरिएका छन् ।
आधुनिक वास्तुकला
पहिले गाउँघर, सहरमा हुने गरेका घर वा भवनहरूको संरचना अहिलेके भन्दा भिन्नै थिए । ढुंगा, माटो, काँचो इँटा लगायतले बनेका घरहरू हुन्थे । घरको वरिपरि प्वालहरू राखिन्थे । जसलाई भँगेराहरूले नेस्टिंग स्पट अर्थात् गुँड बनाउन प्रयोग गर्थे ।
तर अहिले त्यस्ता घर एकाध मात्रै छन् । आधुनिक सामग्रीहरूको गरी बनेका पूर्वाधारहरू ठडिएका छन् । तिनमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो सुविधा छैन ।
वन विनास
विश्वभरी नै वन फँडानी बढेको छ । सानो वनमा पनि वासस्थानको लागि अन्य चराहरूसँग संघर्ष गर्नुपर्ने अवस्था छ ।
मोबाइल टावर विकिरण
जमाना मोबाइलको छ । एकै घरमा ६/७ वटा मोबाइल हुन्छ । नेपालमा त जहाँ बाटो पुगेको छैन, त्यहाँ पनि मोबाइल पुगिसकेको छ । मोबाइल चलाउन ठाउँठाउँमा टावरहरू राखिन्छन् । त्यसबाट निस्कने चुम्बकीय विकिरणले चराहरूलाई असर गरिरहेको छ ।चराहरू चुम्बकीय विकिरणप्रति संवेदनशील हुन्छन् । सहरहरूमा जति जति सेल फोन टावरहरूको संख्या बढ्दै छ, त्यति नै चराको संख्या घट्दै छ । त्यसैले यसको विकल्पहरूको खोजी गर्नुपर्छ ।
ठूला चराहरूको उपस्थिति बढ्नु
काग र परेवा लगायत ठूला चराहरूको बाक्लो उपस्थितीले भँगेरालाई कमजोर बनाउँछ । त्यस्तै ठूला चराले भँगेराको खानाहरू पनि खाइदिन्छ ।
त्यसै पनि चराहरूको खानेकुरा कम हुँदै गएको छ । पहिले अन्नहरूले मानिसले आफ्नै खेतबारीमा उब्जाउँथे । घरका आँगनमा सुकाउँथे । त्यही उनीहरूको आहार हुन्थ्यो । तर, अचेल एयर कन्डिसनिङ, प्लास्टिक प्याकेजिङको जमाना आएको छ । जसले गर्दा भँगेराले आहार जुटाउन सकेन । यसमा पनि ध्यान दिनुपर्छ ।
बढ्दो प्रदूषण
नेपालका थुप्रै सहर प्रदुषणको केन्द्र बनेको छ । विश्वका प्रमुख सहरमध्ये प्रदुषणका हिसाबले काठमाडौँ त पहिलो नम्बरमा नै परेको छ । आईक्यू एअरका अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स ४३७ पुगेको थियो ।
प्रदुषणका हिसाबले दोस्रोमा किर्गिस्तानको बिस्केक, तेस्रोमा पाकिस्तानको कराँची, चीनको वुहान, पाँचौमा भियतनामको हनोई पनि छ । नेपालमा मात्रै होइन, विश्वका थुप्रै सहर प्रदुषित छ । प्रदुषणले मानिसलाई असर त गर्छ नै, चराचुरूङ्गी, जीवजन्तुलाई पनि उत्तिकै असर गर्छ ।
त्यसैले यसबाट मानिसलाई मात्रै नभई भँगेरा लगायत चराहरूले भनी समस्या खेपीरहेका छन् ।
विषादीको अत्यधिक प्रयोग
अचेल हामीले खाने अधिकांश अन्न, फलफूल, तरकारीहरू रासायनिक मल, विषादीको प्रयोग गरी उत्पादन हुन्छ । विषादीले चरालाई पनि असर गर्छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया